मकवानपुर सवारी दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ सिमखोलामा आज दिउँसो भएको सुमो दुर्घटनामा परी मृत्यु भएका चालकको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार, उक्त दर्घुटनामा परी मृत्यु हुनेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नम्वर ४ बस्ने अन्दाजी ३५ वर्षीय प्रमोद साह सोनार रहेका छन् ।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज २११४ नम्वरको सुनौलो यातायातको सुमो इन्द्रसरोवर–२ सिमखोलामा आफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा प्रमोद साहको मृत्यु भएको थियो ।
उक्त सुमोमा चालकसहित ५ जना सवार थिए । तीमध्ये चालकको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै, सोही दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा भारतका ज्ञानाबाद जिल्ला बिहार प्रान्तका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शंकर कुमार, २० वर्षीय बिशाल कुमार र १८ वर्षीय शिबशक्ति कुमार रहेका छन् । घाइतेमध्ये शिवशक्ति कुमारको अवस्था गम्भीर रहेको जनाएको छ । घाइते सबै जनालाई उपचारको लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
मृतक प्रमोदको शव मुचुलका कार्य सकेर पोष्टमार्टमको लागि हेटौँडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
