मकवानपुरमा थप ७० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा आज शुक्रबार ७० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज २०१ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, आज १३६ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र ६५ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा गरी ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा आज सबैभन्दा धेरै संक्रमण पुष्टि हुनेमा हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी, संक्रमण पुष्टि हुनेहरुमा मकवानपुरगढी गाउँपालिकाका ३ जना, बागमती गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका ४ जना, भीमफेदी र बकैया गाउँपालिकाका एक÷एक जना रहेका छन् ।
जिल्लामा यसअघि बिहिबार मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको कूल संख्या १३ हजार ८ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये जिल्लामा हालसम्म १२ हजार ५ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज शुक्रबार ६८ जना संक्रमणमुक्त भएका छन् ।
आज संक्रमणमुक्त हुनेमा हेटौंडाका ३५ जना, थाहानगरपालिकाका १३ जना, मकवानपुरगढी गाउँपालिकाका ५ जना, बागमती र कैलाश गाउँपालिकाका २/२ जना, मनहरी गाउँपालिकाका ६ जना, भीमफेदी गाउँपालिकाका ४ जना र बकैया गाउँपालिकाका एक जना रहेका छन् ।
यसैगरी जिल्लामा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नम्वर १ बस्ने ४५ वर्षीया एक महिला रहेकी छन् । यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १४७ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
