अनेरास्ववियु भीमफेदीद्वारा कक्षा १२ को विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन माग

तु खबर संवाददाता
२०७८ श्रावण २०, बुधबार १८:१९

मकवानपुर । नेकपा एमाले भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को भीमफेदी कमिटीले गाउँपालिकासँग सबै विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन माग गरेको छ ।

अनेरास्ववियु भीमफेदीले आज गाउँपालिकाको अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई पत्रसहित आगामी साउन २४ गतेबाट भौतिक उपस्थितिमा हुने कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन माग गरेको हो ।

वर्तमान समयमा कोरोनाको तेस्रो महामारीलाई मध्यनजर गर्दै विद्यार्थीहरुको लागि खोप माग गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य आशिष अस्लामीले जानकारी दिए ।

उनले राष्ट्रिय परीक्षा बोर्डले भौतिक उपस्थितिमा परीक्षा लिन लागिएको भन्दै कोरोना संक्रमण फैलनबाट बच्न परीक्षार्थी विद्यार्थीलाई तत्काल खोपको व्यवस्था हुनुपर्ने बताए ।

त्यस्तै, उक्त पत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष हिदम लामाले मन्त्रालयले निर्देशन नगरी लगाउदा प्रतिक्रियाको जवाफदेहिता कस्ले दिने भन्ने अन्यौलता रहेको तथा खोपमा उमेर हद रहेकोले पनि विद्यार्थीसालाई खोप लगाउने बारे अन्यौलता रहेको बताए ।