बागमती सरकार : २ वर्षमा २ सय ६ किलोमिटर नयाँ सडक निर्माण
मकवानपुर । बागमती प्रदेश सरकारले २ वर्षको अवधिमा २ सय ६ किलोमिटर नयाँ सडक निर्माण गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालगले सडकको पहुँच नपुगेका गाउँमा २ सय ६ किलोमिटर नयाँ सडक निर्माण गरेको हो ।
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ६६ किलोमिटर र २०७६/०७७ मा १ सय ३९ दशमलब ४९ किलोमिटर नयाँ सडक निर्माण गरेको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाका सूचना अधिकारी हरिप्रसाद ओझाले जानकारी दिए ।
यसैगरी प्रदेशका विभिन्न जिल्लामा भत्किएका ५ सय ४ किलोमिटर सडकको मर्मत गरिएको उनले बताए । आर्थिक वर्ष २०७७/०७८ मा एक सय ४९ दशमलब २२ किलोमिटर सडकको मर्मत तथा आर्थिक वर्ष २०७६/०७७ मा एक सय ११ दशमलव ४८ किलोमिटर सडकको मर्मत गरिएको निर्देशनालयले जनाएको छ ।
