घरेलु उद्योग कार्यालय हेटौँडाद्वारा ५ करोड ३ लाख राजस्व संकलन

तु खबर संवाददाता
२०७८ श्रावण १७, आईतवार ०८:२२

मकवानपुर । घरेलु तथा साना उद्योग कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७७/०७८ मा ५ करोड ३ लाख ८ हजार ८६८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले व्यवसाय रजिष्टेशन, अन्य प्रशासनिक सेवा शुल्क, दण्ड जरीवाना र बेरुजु असुलीबाट ५ करोड ३ लाख ८ हजार ८६८ रुपैयाँ राजस्व सङ्कलन गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दाहालले जानकारी दिए ।

उनका अनुसार, कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा व्यवसाय रजिष्टेशनबाट ४ करोड ७२ लाख ५६ हजार ७४८ रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट २२ लाख ५० हजार ३२० रुपैयाँ, दण्ड जरिवानाबाट ८ लाख रुपैयाँ र बेरुजु असुलीबाट १८ हजार रुपैयाँ गरी जम्मा ५ करोड ३ लाख २५ हजार ६८ रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले गत आर्थिक वर्ष २०७७/०७८ मा १२४ प्रतिशत राजस्व सङ्कलन वृद्धि गरेको छ । आर्थिक २०७६/०७७ को तुलनामा २०७७//०७८ मा १२४ प्रतिशत राजस्व वृद्धि गरेको हो । कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा २ करोड २४ लाख ८३ हजार ८२० रुपैयाँ राजस्व संकलन गरेको थियो ।

सरकारले अनुदान तथा व्यवसाय गर्नेलाई विभिन्न छुट सेवा दिनेदेखि बैंकिङ प्रयोजनामा समेत सहजता ल्याएपछि व्यवसाय दर्ता गर्ने बढेको र राजस्वमा समेत वृद्धि भएको कार्यालयका प्रमुख दाहाले बताए । उनले कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका कारण र ५ लाख पूँजीसम्मका व्यवसायहरु स्थानीय तहमै दर्ता हुने पनि १२४ प्रतिशत बढी राजस्व संकलन भएको उनले बताए ।

उनका अनुसार, सो कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ६९८ वटा उद्योग र ८०२ वटा वाणिज्य गरी कुल २ हजार ५ सय वटा नयाँ व्यवसाय दर्ता भएका छन् भने उद्योग र वाणिज्यतर्फ क्रमश नविकरण ७८६ र १ हजार २८, नामसारी ११५ र ८१, ठाउँसारी ४३ र २६, उदेश्य थप ५५ र १२७, लगत कट्टा १०१ र १८४, पुँजी वृद्धि ३०० र ३१९ र प्रतिलिपी प्रदान ९५ र २०० जना व्यवसायीलाई सेवा प्रदान गरिएको छ ।