भीमफेदी बालगृहका २२ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १५:३६
filr-photo

मकवानपुर । मकवानपुरको भीमफेदी बालगृहका २२ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर ६ स्थित रहेको उक्त बालगृहमा शुक्रबार गरिएको एन्टीजेन परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा बाल गृहमा रहेका २ जना कर्माचारी र २० जना बालबालिका रहेको भीमफेदी स्वास्थ्य संयोजक रामनाथ थिङले जानकारी दिए । उनका अनुसार, कोरोना संक्रमित उनीहरुलाई हाल छुट्टै ठाउँमा राखिएको छ ।

भीमफेदी गाउँपालिकामा रहेको भीमफेदी कारागारमा बिहिबार मात्रै ३५५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहिबार ८ जना कर्मचारीसहित ९६९ जना कैदीहरुलाई एन्टीजेन परीक्षण गर्दा ३५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य संयोजक रामनाथ थिङले जानकारी दिए ।

कोरोना पुष्टि हुनेको संख्या कारागारको बैदीबन्दीको ३० प्रतिशत हो । कोरोना पुष्टि हुनेमा कारागारको ब्लक क र ब्लक ख मा रहेका कैदीबन्दीहरु रहेको स्वास्थ्य संयोजक थिङले बताए । उनका अनुसार, ती संक्रमित कैदीहरुलाई हाल छुट्टै ब्लकमा राखिएको छ ।

स्वास्थ्य संयोजक थिङका अनुसार, कैदी स्थानान्तरणको क्रममा भीमफेदी कारागारबाट अन्त सारिएका ५ जनामा कोरोना देखिएपछि भीमफेदी कारागारका सम्पुर्ण कैदिबन्दीको कोरोना परीक्षण गरिएको थियो ।