भीमफेदी कारागारका ३५५ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ श्रावण १५, शुक्रबार ०८:२१
file photo

मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा रहेका ३५५ जना कैदीबन्दीलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भीमफेदी गाउँपालिका वडा नम्वर ६ स्थित रहेको उक्त कारागारमा बिहिबार ८ कर्मचारीसहित ९६९ जना कैदीहरुलाई एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको भीमफेदी स्वास्थ्य संयोजक रामनाथ थिङले जानकारी दिए ।

कोरोना पुष्टि हुनेको संख्या कारागारको बैदीबन्दीको ३० प्रतिशत हो ।

कोरोना पुष्टि हुनेमा कारागारको ब्लक क र ब्लक ख मा रहेका कैदीबन्दीहरु रहेको स्वास्थ्य संयोजक थिङले बताए । उनका अनुसार, ती संक्रमित कैदीहरुलाई हाल छुट्टै ब्लकमा राखिएको छ ।

कैदी स्थानान्तरणको क्रममा भीमफेदी कारागारबाट अन्त सारिएका ५ जनामा कोरोना देखिएपछि भीमफेदी कारागारका सम्पुर्ण कैदिबन्दीको कोरोना परीक्षण गरिएको थियो ।