मकवानपुरमा थप ७५ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा आज थप ७५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
जिल्लामा आज ३६५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज २८३ जनाको पीसीआर परीक्षण गर्दा ६१ जनामा र ८२ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको हो । आज मकवानपुरमा कोरोना संक्रमितको संख्या २० प्रतिशत रहेको छ ।
संक्रमण पुष्टि हुनेमा हेटौँडा उपमहानगरपालिकाका ५४ जना, थाहा नगरपालिकाका ८ जना, मकवानपुरगढीका गाउँपालिका ५ जना, मनहरी गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका २ जना, राक्सिराङ्ग र कैलाश गाउँपालिकाका एक÷एक जना रहेका छन् । यससँगै जिल्लामा कूल कोरोना संक्रमितको संख्या १२ हजार ५ सय ८१ जना पुगेको छ ।
यसैगरी, जिल्लामा पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका रहेका छन् । यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, जिल्लामा आज ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको ७२ जना आज कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा ५ सय ५० जना सक्रिय संक्रमित रहेका छन् । जसमा ५ सय ८ जना होम आइसोलेशनमा र ४२ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
