मकवानपुरमा भोलिदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइने
मकवानपुर । मकवानपुरमा भोलिदेखि कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको अमेरिकी खोप जोन्सन एण्ड जोन्सन लगाइने भएको छ ।
जिल्लामा भोलि साउन १२ र साउन १३ गते गरी दुई दिन जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।
उनका अनुसार, उक्त खोेप जिल्लाका १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकलाई लगाइने भनिएता पनि ५० देखि ५४ वर्ष उमेरका, विदेश जाने र रातो तथा निलो परिचयपत्र बाहक अपाङ्गता भएकालाई प्राथकिता दिई लगाइने भएको छ ।
खोप लगाउँन अनलाईन फारम भर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिदै निरीक्षक चौलागाईले खोप लगाउनका लागि www.vaccine.mohp.gov.np मा उपलब्ध फारम भर्नुपर्ने जानकारी दिए ।
फारम भरिसकेपछि प्राप्त हुने दर्ता नम्बर र परिचय पत्र लिएर आफुलाई पायक पर्ने नजिकको खोप केन्द्रमा गएर खोप लगाउन सकिने निरीक्षक चौलागाईको भनाई छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्यका अनुसार, जिल्लामा जोन्सन एण्ड जोन्सको २३ हजार मात्रा खोप आइसकेको छ ।
