मकवानपुरमा १६ प्रतिशतले वृद्धि भयो राजस्व संकलन
मकवानपुर । मकवानपुरमा गत आर्थिक वर्ष २०७७/०७८ मा राजस्व संकलनमा १६ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक राजस्व कार्यालय मकवानपुरका अनुसार, जिल्लाको विभिन्न स्थानीय तहहरुमा संचालनमा रहेको वस्तुहरु उत्पादन गर्ने उद्योग तथा कलकारखानाहरूमा अनुगमन गरी राजस्व संकलनमा तीव्रता दिएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व संकलनमा १६ प्रतिशतले वृद्धि भएको हो ।
राजस्व कार्यालय मकवानपुरका प्रमुख शालिकराम आचार्यका अनुसार, कोरोना संक्रमणको जोखिमका कारण विगत ३ महिनादेखि निषेधाज्ञा खेपिरहेको मकवानपुरको उद्योग व्यवसायहरूबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व संकलनमा ७७ करोड १० लाख ६६ हजार रुपैयाँले वृद्धि गरेको हो ।
गत आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न स्रोतको राजस्व बापत ५ अर्व ५५ करोड ८४ लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा भने राजस्व कार्यालय मकवानपुरले ४ अर्व ७८ करोड ७३ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
राजस्व कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार, जिल्लामा अन्त शुक्ल तर्फ २ अर्व ८६ करोड ९ लाख २१ हजार रुपैयाँ र मुल्य अभिवृद्धि कर बापत १ अर्व ३४ करोड ८ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
त्यस्तै आयकर बापत १ अर्व १० करोड ६९ लाख १३ हजार रुपैयाँ, ब्याजकर बापत ४ करोड ६० लाख ८१ हजार रुपैयाँ र घरबहाल कर बापत २ करोड ६२ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरिएको राजस्व कार्यालय मकवानपुरले जनाएको छ ।
