कक्षा १२ को परीक्षामा मकवानपुरका ५३९१ जना सहभागी हुने

तु खबर संवाददाता
२०७८ श्रावण ९, शनिबार ०९:१७
file photo

मकवानपुर । कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको समयतालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले साउन ५ गते सूचना जारी गर्दै कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आगामी साउन ३१ गतेबाट सुरु हुने परीक्षामा मकवानपुरका जिल्लाबाट ५ हजार ३ सय ९१ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड हेटौँडा कार्यालय प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

कोरोना जोखिम नै रहेको अवस्थामा विद्यार्थीहरुको भौतिक उपस्थिति मै स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी परीक्षा संचालन गर्ने बोर्डले जनाएको छ । यसवर्ष विद्यार्थी आफू अध्ययनरत कलेज तथा विद्यालयबाटै कक्षा १२ को परीक्षामा सहभागी हुन पाउनेछन् ।

जिल्लाको सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने मकवानपुर बहुमुखी क्याम्पसबाट १ हजार ३ सय विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने मकवानपुर बहुमुखी क्याम्पस मानविकी संकाय प्रमुख संगम चौलागाईले जानकारी दिए ।

यसैगरी हेटौँडा क्याम्पसबाट नियमिततर्फ ३ सय १३ जना परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने हेटौँडा क्याम्पसका प्रमुख देवेन्द्र मानन्धरले जानकारी दिए ।