हेटौँडामा विभिन्न पार्टी परित्याग गरी ६९ जना कांग्रेसमा प्रवेश
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा विभिन्न पार्टी परित्याग गरी ६९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ६९ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
शुक्रबार पदमपोखरीमा भएको कार्यक्रममा नेपाली कांग्रेसका हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीसहितका नेताहरुले उनीहरुलाई कांग्रेसको सदस्यता दिएका हुन् ।
ठाकुरनाथ खतिवडा, लेखप्रसाद ढुंगेल, विनोद थोकर, सोमलाल रुम्बा, अनिल विश्वकर्मा, यमबहादुर सुनार, विनोदप्रसाद चौलागाइँ, भुषण खतिवडालगायत एमाले, माओवादी र राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् ।

कार्यक्रममा कांग्रेस उपमहानगर सभापति आनन्दराम पराजुलीले नेपालमा कम्युनिष्टको पतनको बाटो सुरु भएको बताए । जनताले दिएको दुई तिहाई बहुमतलाई लत्याउँदै मनलाग्दी गरेका कारण केपी शर्मा ओली सत्ताच्यूत हुनुपरेको भन्दै उनले अबको चुनावमा नेकपाको लज्जास्पद हार हुने दावी गरे ।
‘झुटको खेती धेरै समय टिक्दैन भन्ने प्रमाणित भएको छ । जनता कम्युनिष्ट सरकारबाट आजित भैसकेका छन् । जनतालाई सपना देखाउने कम्युनिष्टहरु अहिले आफैं सपनामा होकी विपनामा हो भनेर अन्यौलमा छन’, नगर सभापति पराजुलीले भने, ‘जनतालाई झुक्याउने काम कांग्रेसले गर्दैन ।’

कार्यक्रममा नेपाल तरुण दल हेटौंडा उपमहानगर अध्यक्ष सुनिल गिरीले पछिल्लो समय कांग्रेसमा युवाहरुको आकर्षण बढेको भन्दै युवालाई अप्ठेरो परेको अवस्थामा तरुण दल साथ दिन तयार रहेको बताए ।
कांग्रेस नेता कृष्ण थिङको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस १३ नम्बर वडा सभापति चम्फुरत्न लामा, स्थानीय नेताहरु अर्जुन थिङ, धिरेन लामा, अमृत लुङ्बा, सूर्य थोकरलगायतको आतिथ्यता रहेको थियो ।
