जसपा विवादको अन्तिम बहस आज

तु खबर संवाददाता
२०७८ श्रावण ७,बिहीबार १२:१०

काठमाडौं । निर्वाचन आयोगमा जसपाको आधिकारितासम्बन्धी विवादको अन्तिम बहस आज विहिबार हुँदैछ ।

पार्टीका अध्यक्ष द्वय महन्थ ठाकुर र उपेन्द्र यादवले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
आयोगले सो विवाद निरुपण गर्नको लागि साउन ३ गतेदेखि इजलास गठन गरेर बहस चलाइरहेको छ ।
दुवै पक्षका अधिवक्ताहरूले दुई–दुई घण्टा आ–आफ्नो पक्षमा बहस गर्ने बताइएको छ । अरु अधिवक्ताले केही भन्न चाहेमा बहस नोट लेखेर दिन सक्नेछन् । बहस सकिएपछि आयोगको इजलासले प्रमाण हेरेर आजै नतिजा दिनसक्ने संभावना रहेको जसपाका नेताहरुले बताएका छन् ।

चित्त नबुझे कसको पक्षमा बहुमत छ भन्ने निर्क्यौलका लागि कार्यकारिणी सदस्यहरुलाई आयोगमा नै उपस्थित गराएर सनाखत गराउन सकिने सम्भावना पनि रहेको जसपा उपेन्द्र यादव पक्षका वरिष्ठ अधिवक्ता वीरेन्द्र ठाकुरले बताए ।