हेटौँडामा पुष्पलालको शालिक अनावरण

तु खबर संवाददाता
२०७८ श्रावण ७,बिहीबार १०:०४

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा हेटौँडामा पुष्पलालको शालिक अनावरण गरिएको छ ।

बिहिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक कार्यक्रमबीच हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ पुष्पलाल पार्कमा निर्माण गरिएको पुष्पलाल श्रेष्ठको प्रतिमा (शालिक) अनावरण गरेका हुन् ।

नेपालमा कम्युनिष्ट पार्टीमार्फत् नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले कम्युनिष्ट पार्टीका हरेक कार्यकर्ताले पुष्पलालका सिद्धान्तलाई आत्मसाथ गरेर अघि बढ्नु पर्ने बताए ।

पुस्पलालले नेपालको कम्युनिष्ट आन्दोलनलाई यो अवस्थासम्म ल्याउन गरेको योगदानको उच्च मुल्याङ्क गर्दै उनको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने मुख्यमन्त्री पौडेलले बताए ।

उनले वर्तमान परिस्थितीमा उचाइमा पुगेको कम्युनिष्ट आन्दोलनलाई विभिन्न जाल झेल गरेर खसाल्ने प्रयत्न भइरहेको भन्दै दुःख व्यक्त गरे ।

मुख्यमन्त्री पौडेलले नेकपा एमालेले विभाजित मानसिकतालाई छोडेर कम्युनिष्ट आन्दोलनको मूल उद्देश्यलाई केन्द्रविन्दु बनाई बाहिरी शक्तिलाई पनि एउटै शुत्रमा बाध्न सके मात्र पुष्पलालप्रति सम्मान हुने धारणा व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले वर्तमान अवस्थामा सबैतिरबाट कम्युनिष्टलाई सिध्याउने खेल भइरहेकाले सजग भएर काम गर्नुपर्ने बताए ।

सामन्तवादका विरुद्धमा पुस्पलालले आन्दोलनको सुरुवात गरेकोले त्यसलाई निश्कर्षमा पु¥याउनु पर्ने दायित्व सबै कम्युनिष्ट विचार धारका नेता तथा कार्यकर्ताको भएको उनले बताए ।