कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै हुने
मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अब भौतिक उपस्थितिमै गर्ने भएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएपछि बोर्डले परीक्षाको तयारी थालेको हो ।
सीसीएमसीका सूचना अधिकारी माधवप्रसाद ढुङ्गानाका अनुसार, बोर्डले मागेको अनुमति अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।
परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा सञ्चालन गर्न अनुमति पाएको बताउँदै मन्त्रिपरिषद्ले निर्णय गरेपछि परीक्षा सञ्चालन गर्ने बताएका छन् । बोर्डले परीक्षा लिनका लागि सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गर्ने काम गरिरहेको छ ।
यसअघि गत जेठ महीना तय भएको कक्षा १२ को वार्षीक परीक्षा कोरोना महामारीको दोस्रो लहरबाट उत्पन्न परिस्थितिले स्थगित भएको थियो ।
