हात्तिलेटमा फुटबल चौर निर्माणको काम सुरु, सहयोग जुटाइदिन अपिल
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–६ हात्तिलेटमा फुटबल चौर निर्माणको काम सुरु गरिएको छ ।
श्री समाजसेवा युवा क्लब हात्तिलेटको अगुवाइमा स्थानिय युवाहरूसंग आर्थिक सहयोग जुटाएर चौर निर्माणको काम सुरु गरिएको हो ।
उक्त चौर निर्माणका लागि स्थानीय र श्री समाजसेवा युवा क्लबले केही लगानी व्यवस्थापन गरेको भएपनि पर्याप्त नभएको क्लबका उपाध्यक्ष लक्ष्मण पौडेलले बताए ।
उनले स्थानीय तह र प्रदेश सरकारसंग आर्थिक सहयोगको लागि अपिल गर्दा आश्वासन मात्रै पाइने गरेको भन्दै गुनासोसमेत गरे ।
‘हामीसंग चौर निर्माणको लागि पर्याप्त रकम जुटिसकेको छैन । स्थानीय स्तरमा केही रकम उठाएर काम गरिरहेका छौँ । स्थानीय र प्रदेश सरकारले चासो देखाए, चौर निर्माणको कामले पूर्णता पाउने थियो ।’ उनले भने ।
चौर निर्माण गर्दा स्थानीय स्तरको खेलकुद क्षेत्रको विकासमा टेवा पुग्नेसमेत देखिएको छ ।
मकवानपुरका सेन वंशीय राजाले आफ्ना ज्वाइं पृथ्वीनारायण शाहलाइ उपहारमा दिएको सेतो हात्ती भागेर आई सोही स्थानबाट हराएकोले त्यस धापिलो क्षेत्रको नाम हात्तिलेट रहन गएको किंवदन्ती छ ।
पछिसम्म पनि पूर्वतर्फ व्यापार गर्नकालागि प्रयोग गरिने खच्चड, घोडा र हात्तीको विसौनी स्थलका रुपमा रहेको करिब चार बिगाहा क्षेत्रफलभन्दा बढी सार्वजनिक क्षेत्रमा फैलिएको जमिन संरक्षण र संबर्धनको पर्खाइमा भएपनि सम्बन्धित निकायको दृष्टिबाट ओझेलमा पर्दै आएको उपाध्यक्ष पौडेलले गुनासो गरे ।
स्थानीयवासीहरुले उक्त जमिनको स्तरोन्नती र विकासका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।
