सरकार विपद् व्यवस्थापनतर्फ नभएर मन्त्री, नेताहरुमा बजेट छर्न व्यस्तः नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको ध्यान विपद् व्यवस्थापनतर्फ नभएर मन्त्री, नेता र कार्यकर्तामा बजेट छर्न मात्रै व्यस्त रहेको बताएका छन् ।
शनिबार बसको प्रदेशसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने क्रममा अवरोध गर्दै नेता बानियाँले जनता विपद्को पिडामा रहेको बखत सरकारले त्यसतर्फ गैर जिम्मेवारपन देखाएको बताएका हुन् ।
प्रदेश सरकार त्यसतर्फ जिम्मेवार हुन नसकेको हो भने आफुले त्यसको नेतृत्व लिएर विपद् व्यवस्थापनको काम गर्ने नेता बानियाँको भनाई छ ।
नेता बानियाँले प्रदेश सरकारले संसद् र सांसद्हरुलाई झुक्याउँनलाई बजेट कार्यक्रम विवरणको पुस्तक २ प्रकारको प्रकाशन गरी संघिय सरकारको सिको सिकेको प्रमाणित भएको बताए ।
बजेटलाई प्रोभिन्सीयल लाइन मिनिष्ट्र बजेट इन्फर्मेशन सिष्टम (पी.एल.एम.बी.आई.एस) मा प्रविष्ट नै नगरी २ प्रकारको पुस्तको प्रकाशन गरी वितरण गर्नुले संसद्लाई नै लज्जित बनाएको उनले बताए ।
प्रदेश सरकारले मिडिया हाउस संचालन गर्ने निर्णय गरेर लोकतन्त्रको धज्जी उडाएको उनको भनाई छ । उनले यस निर्णयको तत्काल खारेजीको माग समेत गरे ।
उनले सरकार विद्युतिय बस खरिद प्रक्रियालाई तत्काल नरोके बजेटमाथिको छलफल हुन नदिने बताए ।
