मकवानपुरका स्थानीय तहहरुले ल्याए ८ अर्ब २३ करोडको बजेट
मकवानपुर । मकवानपुरका १० वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गरेको छ ।
जिल्लाको हेटौँडा उपमहानगरपालिकासहित १० वटा स्थानीय तहले गत असार १० गते आगामी आर्थिक वर्षको लागि ८ अर्ब २३ करोड ४२ लाख ३९ हजार ६२ रुपैयाँ ८४ पैसाको बजेट सार्वजनिक गरेको हो ।
बागमती प्रदेशको एक मात्र उपमहानगरपालिकाको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो जिल्लाका अन्य पालिकाको तुलनामा सबै भन्दा बढी बजेट हो ।
यस्तै, जिल्लाको थाहा नगरपालिकाले ९५ करोड ६४ लाख ३२ हजार रूपैयाँ, मनहरी गाउँपालिकाले ८३ करोड ६७ लाख ४६ हजार रुपैयाँ, भीमफेदी गाउँपालिकाले ६५ करोड ४१ लाख ९९ हजार रुपैयाँ, बागमती गाउँपालिकाले ५३ करोड ६६ लाख ९३ हजार रुपैयाँ, राक्सिराङ गाउँपालिकाले ५४ करोड ७३ लाख २० हजार रुपैयाँ, बकैया गाउँपालिकाले ६२ करोड ८३ लाख ७८ हजार रुपैयाँ, मकवानपुरगढी गाउँपालिकाले ६२ करोड ९२ लाख १७ हजार रुपैयाँ, कैलाश गाउँपालिकाले ४५ करोड ९६ लाख रुपैयाँ र इन्द्रसरोवर गाउँपालिकाले ३८ करोड ४१ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
मकवानपुरका सबै स्थानीय तहहरुले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा भौतिक पूर्वाधारलाई नै प्राथमिकता दिएका छन् ।
मकवानपुरका स्थानीय तहहरुले कोरोना संक्रमणको जोखिमका बीच सार्वजनिक गरेको उक्त बजेट कोरोना संक्रमण नियन्त्रण, आर्थिक विकासका कार्यक्रमहरु मकवानपुरका स्थानीय तहको बजेट र नीति तथा कार्यक्रममा प्राथमिकतामा नपरेको देखिएको छ ।
स्थानीय तहले आगामी वर्षको बजेटमा गत वर्षहरूको अधुरा योजना पुरा गर्ने र पूर्वाधार निर्माणलाई नै जोड दिएका छन् ।
