बङ्गलादेशबाट नेपाल आइपुग्यो ३२ हजार मेट्रिकटन मल
काठमाडौं । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ ।
उक्त मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा आइपुगेको हो ।
सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार उक्त मल नेपाल आइपुगेको हो ।
जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको १७ हजार ५ सय मेट्रिकटन युरिया मल आउने क्रममा रहेको सो कार्यालयका प्रवन्धक गोरखनाथ केसीले बताए ।
उनका अनुसार, बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गवाट वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयमा आउने छन् ।
