कोरोनाको कारण मउवा संघको निर्वाचन प्रभावित हुने

तु खबर संवाददाता
२०७८ बैशाख ७, मंगलवार १७:०३

मकवानपुर । बैशाख १८ गते हुने भनिएको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन प्रभावित हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमका कारण मउवा संघको निर्वाचन प्रभावित हुने भएको हो ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कोरोना महामारी नियन्त्रण तथा रोकथामको सन्दर्भमा नेपाल सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न/गराउन निर्देशन जारी गरेको बताउँदै अहिले मकवानपुरमा कुनैपनि सभा, समारोह, सम्मेलन, गोष्ठि तथा निर्वाचनलगायतका कार्यक्रम आयोजना गर्न रोक लगाइने बताए ।

पत्रकारहरुसँग कुराकानी गर्दै प्रजिअ पाण्डेले मउवा संघ पनि कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्रको सदस्य संस्था भएको बताए ।

उनले भने, ‘मैले मउवा संघको निर्वाचन रोक्छु, रोक्दिन भन्न मिल्दैन । उहाँहरुको निर्वाचन कहिले हो, त्यो पनि मलाई थाहा छैन । तर कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्रको सदस्य संस्था भएको नाताले मउवा संघले प्रशासनको निर्णय नमानेर जोखिमकै बिचमा निर्वाचन कार्यक्रम आयोजना गर्छ भन्ने मलाई लाग्दैन ।’

‘प्रत्येक संस्थाहरुको आफ्नै विधि र विधान हुन्छ । सोही अनुसार संस्थाको गतिविधि संचालन हुने हो । प्रशासनले कुनै पनि संस्थालाई निर्वाचन लगायतका कार्यक्रम फलानो मितिमा गर वा नगर भन्न मिल्दैन । गर्ने/नगर्ने वा कसरी गर्ने भन्ने उहाँहरुको कुरा हो । तर प्रशासनको निर्णय सबैलाई समान रुपमा लागू हुनुपर्छ र हुन्छ ।’ उनले थपे ।

सबै प्रकारका शान्ति सुरक्षा र नागरिकको रक्षा गर्नु प्रशासनको प्रमुख दायित्व भएकोले प्रशासनको निर्णयविपरित कहिँ कतै भीडभाड हुनेगरी सभा, गोष्ठि, सम्मेलन वा निर्वाचनलगायतका कार्यक्रम गरे संक्रमण रोग ऐन २०२० अनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रजिअ पाण्डेको भनाई छ ।

मउवा संघको निर्वाचन यसअघि चैत २३ गतेका लागि तय भएको थियो । तर, संस्थापन पक्षले निर्वाचनको कार्यक्रम स्थगित गरेको थियो ।

निर्वाचन कार्यक्रम स्थगित भएपश्चात मउवा संघको अर्को पक्ष (संस्थापन पक्षबाहेक) ले निर्वाचनको कार्यक्रम तत्काल संचालन गर्न माग गर्दै जिल्ला प्रशासन कार्याल मकवानपुरमा ज्ञापनपत्र बुझाएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले संस्थाको विधान अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर निर्वाचन कार्यक्रम संचालन गर्न भन्दै पत्र लेखेका थिए ।

प्रशासनको पत्र प्राप्त भएपछि मउवासंघको संस्थापन पक्षले आगामी बैशाख १८ गतेको लागि निर्वाचन कार्यक्रम तय गरेको थियो ।
तर, कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्रले मकवानपुरमा कुनैपनि सभा सम्मेलन, गोष्ठि तथा निर्वाचन लगायतका कार्य नगर्न स्पष्ट निर्देशन जारी गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*