कांग्रेस र कम्युनिष्ट असफल सावित भए– कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्ट असफल साबित भएको बताएका छन् ।
राप्रपा काठमाडौं महानगर समितीद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।
उनले सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुडीका कारण मुलुक अस्थिरताको दलदलमा फसेको पनि दाबी गरे ।
अध्यक्ष थापाले संवैधानिक अंगका प्रमुखहरु माथी नै गम्भीर आरोप–प्रत्यारोप हुनु, एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नाले अहिलेको राज्य ब्यबस्था माथि प्रश्नचिन्ह खडा भएको आरोप लगाए ।
गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको बाटोबाट मुलुकलाई समृद्धिको बाटोतर्फ लैजान नसकिने भन्दै त्रुटिपूर्ण मार्गचित्र परिवर्तन गर्नको निमित्त गम्भीरतापूर्वक चिन्तन मनन हुनुपर्नेमा उनले जोड दिए ।
