बागमती प्रदेशमा आईसियुको संख्या बढाइन्छः मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि आईसियु संख्या बढाउने बताएका छन् ।
बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसङ्ग भएको छलफलमा मुख्यमन्त्री पौडेलले हाल गम्भीर प्रकृतिका बिरामीहरू देखापर्न थालेकोले आईसियुको संख्या बढाउनु पर्ने धारणा राखेका हुन् ।
उनले प्रदेश सरकारले आईसोलेशन निर्माण एवम् संचालन गरिरहेको जानकारी दिँदै यसको नियन्त्रणका लागि प्रदेश सरकार जिम्मेवार भएर लागेको बताए ।
अन्य जिल्लामा संक्रमण कम भएपनि अहिले काठमाडौमा कोरोनाबाट थप सङ्कट उत्पन्न हुन सक्नेतर्फ संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्य अनिवार्य रहेकोमा मुख्यमन्त्री पौडेलको जोड थियो ।
काठमाडौंमा सङ्क्रमण दर घटाउन प्रदेशले विभिन्न स्थानमा आईसोलेशन निर्माण गरि काम गरीरहेको जानकारी
गराए ।
यसैगरी कोरोना सङ्क्रमणकै कारण पनि शिक्षा क्षेत्रमा समस्याग्रस्त बनेको विषयमा छलफल भएको थियो । छलफलका क्रममा समितिका सदस्य जिवनराम श्रेष्ठले शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेशसङ्ग समन्वय र सहकार्य हुने बताए ।
हाल काठमाण्डौंलगायत ललितपुर, चितवन, दोलखा, काभ्रे जिल्लामा प्रदेश मातहतका अस्पताल रहेका छैनन् । ति जिल्लामा आफ्ना मातहतका अस्पताल संचालन गर्न सोही जिल्लामा रहेका एक/एक वटा स्वास्थ्य केन्द्रहरुलाई स्तरोन्नती गर्न लागिएको छ । ती स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा बिकास गर्न नेपाल सरकारलाई पत्राचार गरीसकिएको प्रदेश सरकारले जनाएको छ ।
काठमाण्डौको कोरोना संक्रमितलाई राख्न प्रत्येक स्थानिय तहमा १००/१०० बेडको आइसोलेशन निर्माण भइसकेको छ । अहिले प्रदेशका अस्पतालहरुमा आवश्यकताअनुसार आईसियु र भेन्टिलेटरसहितको सुबिधा उपलब्ध गराईएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
प्रदेशले कोरोना परिक्षणका लागि २ स्थानमा ल्याब सञ्चालन गरिरहेको र ४ वटा तत्काल थप हुने भएका छन् भने सिन्धुली, भक्तपुर नुवाकोट र हेटौंडामा थप गर्न लागिएको छ ।
प्रदेशमा हाल ३ हजार २ सय ६० आइसोलेशन बेड, ६ सय ३० आइसियु बेड रहेका छन भने १ सय ९५ वटा भेन्टिलेटर बेड रहेका छन् ।
