बडादशैँमा उद्योग वाणिज्य संघले ३ सय विपन्न परिवारलाई खाद्यान्न प्याकेट वितरण गर्ने
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले बडादशैँ २०७७ को अवसरमा जिल्लाको ८ वटा गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा बसोबास गर्ने विपन्न परिवारलाई खाद्यान्न प्याकेट वितरण गर्ने भएको छ ।
दैनिक ज्यालादारी गरेर जीवनयापन गर्दै आएका अतिविपन्न ३ सय परिवारलाई कार्तिक ४ गतेबाट राहत स्वरुप खाद्यान्न प्याकेट वितरण गर्न लागिएको संघले जनाएको छ ।
ती जिल्लाको कही गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाको १९ वटै वडामा लकडाउनको कारण मर्कामा परेका ३ सय अतिविपन्न परिवारको स्थानीय वडा समितिमार्फत छनौट गरिने र प्रत्येक परिवारलाई चिउरा ५ केजी, चिनि १ केजी, नुन २ पाकेट र तेल १ लिटर वितरण गर्ने तयारी भइरहेको संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले जानकारी दिए ।
उनका अनुसार कार्तिक १ गतेबाट भने सर्वसाधारणका लागि हेटौँडा बजारस्थित खाद्यान्न पसलहरुमा सुपथ मुल्यमा खाद्यान्न, फलफुल, तेल, आँटा, तरकारी र मसलाहरु त्रिक्रिवितरण गर्न लगाउने तयारीका साथ गृहकार्य भइरहेको छ ।
मकवानपुरको चित्लाङ, पालुङ, भीमफेदी, मनहरी, मैँसे, लोथर र चौघडालगायतका बजारहरुमा पनि सुपथ मुल्यमा सर्वसाधारणलाई खाद्य बस्तु उपलब्ध गराउनेतर्फ पहल भइरहेको उनले जानकारी दिए ।
