चिनीको मूल्यमा मनपरी किलोमै १७ रुपैयाँसम्म अन्तर

पत्रपत्रिका
२०७७ आश्विन ९, शुक्रबार ०८:३८
file-photo

सरकारी स्वामित्वका संस्थानमार्फत पर्याप्त चिनी खरिद गरेर बजारमा हस्तक्षेप गर्न नसक्दा मूल्यमा बेथिति देखिएको छ । अहिले बजारमा चिनी किलोको ७३ रुपैयाँदेखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

व्यापारीले मनोमानी रुपमा चिनी बिक्री गर्दा उपभोक्ता ठगिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले ७३ रुपैयाँ किलोमा बिक्री गरेको चिनी खुला बजारमा व्यापारीले ९० रुपैयाँसम्म लिने गरेका छन् । केही मार्ट, डिपार्टमेन्टल स्टोर्सले ८० देखि ८५ रुपैयाँमा चिनी बिक्री गरिरहेका छन् । तरकारीजस्तो चिनी सड्ने, गल्ने वस्तु नभएकाले मूल्यमा एकरुपता हुनुपर्ने हो तर छैन ।

उद्योगी र व्यापारीको मिलेमतोमा चिनीमा उपभोक्ता सधैं ठगिएको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘साल्ट ट्रेडिङमा सस्तो भए पनि मागेजति दिएको छैन,’ श्रेष्ठले भने, ‘ठूला व्यापारीको मिलेमतोमा चिनीमा खेल भइरहेको छ ।’ खुद्रा किराना पसलले ८५ देखि ९० रुपैयाँमा चिनी बिक्री गरिरहेको श्रेष्ठले बताए ।

सरकारको लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी स्टक राखेर हस्तक्षेप गर्न नसक्दा उपभोक्ता ठगिएका हुन् । ती कम्पनीले सरकारले समयमा नै चिनी आयातको अनुमति नदिँदा मागको आधारमा आपूर्ति गर्न नसकेको बताउँछन् । आफूसँग सीमित चिनी भएकाले माग गरेका आधारमा आपूर्ति गर्न नसकेको साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले बताए । ‘हाम्रो आउटलेटमा ७३ रुपैयाँ किलोमा बिक्री गरिरहेका छौं,’ झाले भने, ‘सरकारले समयमै चिनी आयात गर्ने अनुमति नदिँदा पर्याप्त स्टक छैन ।’ अहिले खुद्रा हिसाबले मात्र बिक्री गरिरहेको, नयाँ चिनी आएपछि मात्र ठूलो परिमाणमा दिन सक्ने झाले बताए ।

अहिले बजारमा चिनी प्रतिकिलो ७३ रुपैयाँदेखि ९० रुपैयाँसम्म बिक्री भइरहेको छ । सरकारको लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी स्टक राखेर बजारमा हस्तक्षेप गर्न नसक्दा उपभोक्ता ठगिएका छन् ।

फितलो सरकारी तयारीले चिनीको मूल्य नियन्त्रण हुन नसकेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘समयमा खरिद गरेर स्टक राखेको भए मूल्यमा एकरुपता हुन्थ्यो,’ उनले भने, ‘बजारमा प्रभावकारी अनुगमन नहुँदा पनि मूल्य फरकफरक छ ।’

स्वदेशी उत्पादन सकिएकाले चिनीको मूल्य बढेको हुन सक्ने चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल बताउँछन् । ‘हाम्रो उत्पादन सकिएको एकडेढ महिना भयो,’ अग्रवालले भने, ‘भारतबाट आयात हुन सुरु भएकाले मूल्य फरक भएको हुन सक्छ ।’

दसैं, तिहारलगायतका चाडपर्वमा चिनी अभाव हुन नदिन दुई कम्पनीले तीस हजार मेट्रिक टन चिनी आयात गर्ने भएका छन् । दसैंमा मूल्य वृद्धि नियन्त्रण गर्न साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यापार कम्पनीले चिनी आयात गर्न लागेका हुन् । साल्ट ट्रेडिङलाई २० हजार टन र खाद्य व्यापार कम्पनीलाई १० हजार टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न सरकारले अनुमति दिएको छ । दसैंअघि नै चिनी ल्याउन टेन्डर गरेर भारतीय कम्पनी छनोट भइसकेको साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले बताए । चिनी आयात गर्न बहुराष्ट्रिय कम्पनी रेनुका सुगर्स छनोट भएको छ । ‘चिनी ल्याउने कम्पनीसँग सम्झौता भइसकेको छ,’ राजभण्डारीले भने, ‘दसैंअघि नै चिनी ल्याउँछौं ।’ दसैंमा खपत बढ्ने भएकाले बजारमा अभाव हुन नदिन चिनी ल्याउन लागेको राजभण्डारीले बताए । ‘पर्याप्त चिनी भएन भने कालोबजारी हुने सम्भावना हुन्छ,’ उनले भने ।

यसैबीच खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि १० हजार मेट्रिक टन चिनी आयात प्रक्रिया अघि बढाएको छ । कम्पनीले चिनी खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ तर यो चिनी तिहार, छठसम्म मात्र आइपुग्छ ।

सार्वजनिक खरिद ऐनअनुसार अन्तर्राष्ट्रिय बोलपत्रमा ४५ दिनको समय राख्नुपर्ने भएकाले केही ढिला हुने कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले बताए । ‘बोलपत्र आह्वान गरेको पनि २० दिन भइसकेको छ,’ खनालले भने, ‘जति सक्दो छिटो ल्याउने प्रक्रियामा छौं ।’ मुलुकमा वार्षिक दुई लाख ५० हजार टन चिनीको माग छ । नेपालमा गत वर्ष एक लाख ८० हजार मेट्रिक टन मात्र चिनी उत्पादन भएको उद्योगी बताउँछन् । नेपालमा एकदर्जन चिनी उद्योग छन् । अहिले निजी क्षेत्रका व्यवसायीले पनि चिनी आयात गरिरहेका छन् । दसैं, तिहार, छठलगायतका पर्वमा चिनीको खपत उच्च हुन्छ । सरकारले भन्सार छुट दिएकाले साल्ट ट्रेडिङ र व्यापार कम्पनीले ल्याएर बिक्री गर्ने चिनी अन्यत्र भन्दा सस्तो हुन्छ । आजको नागरिक दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*