पराजुली दुबैतिर कर्मचारी भए, दुई तिरबाटै तलब खाए
मकवानपुर । बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलका स्वकीय सचिव शिशिर पराजुलीले दुई फरक निकायबाट नायब सुब्बा सरहको तलब बुझेको खुलेको छ ।
पराजुलीले प्रदेशसभा सचिवालयबाट नायब सुब्बाले पाउने सेवा सुविधाबापत मासिक २८ हजार २ सय र हेटौंडा उपमहानगरपालिकाबाट पनि नायब सुब्बा सरह सोही बराबरको तबल बुझेको खुलेको हो ।
उनले हेटौंडा उपमहानगरपालिकामा गरिब घर/परिवार पहिचानको तथ्याङ्क संकलन कार्यक्रममा सुपरभाइजरको रुपमा नायब सुब्बा सरहको तलब बुझेको खुलेको हो । हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा उनले गत माघ १२ गते सो पदको नियुक्ति पत्र बुझेका थिए भने उनको काम असार १२ गते सकिएको थियो । यो बीचमा उनी बागमती प्रदेशसभा सदस्य सिग्देलको स्वीकय सचिव पनि थिए । अहिले पनि उनी सिग्देलको स्वकीय सचिवको रुपमा कार्यरत रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिकामा सुपरभाइजरमा कार्यरत रहनु अघि, रहेकै समयमा र त्यसपछि पनि पराजुलीले स्वकीय सचिवको हैसियतमा नायब सुब्बा सरह तलब बुझेको देखिएको हो ।
प्रदेशसभा सचिवालयका अनुसार, स्वकीय सचिवको हैसियतमा पराजुलीले तलब लिइरहेका छन् ।
तु खबरसँग कुराकानी गर्दै पराजुलीले त्यसरी काम गर्न मिल्छ भन्ने भएर आफूले दुबै तर्फबाट तलब लिएको स्वीकार गरेका छन् ।
मिल्दैन भन्ने कुरा सुनेको थिएँ, सल्लाह गर्दा पीएको समय निर्धारण नहुने भएकाले मिल्छ भन्ने भयो त्यही भएर काम गरेको हुँ, उनले भने । तलब पनि दुबैतिरबाट लिएको हुँ, उनले तु खबरसँग भने ।
