विपतमा परी मृत्यु भएकाको परिवारलाई सरकारले २ लाख दिने
काठमाडौं । सरकारले प्राकृतिक विपतका घटनामा परी मृत्यु हुने व्यक्तिको परिवारलाई २ लाख रुपैयाँ दिने भएको छ ।
मन्त्रिपरिषद बैठकले विपदमा परी एकै परिवारका एक भन्दा बढीको मृत्यु भएमा एक जनाको २ लाख र अन्यको हकमा प्रतिव्यक्ति थप १ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
त्यस्तै विपतबाट घर, आवास नष्ट भएमा वा खाद्यान्न बाली तथा जग्गा जमिन, पसल व्यवसाय नोक्सान भएमा पीडित परिवारले नगद राहत पाउनेछ ।
५ जनासम्म सदस्य भएका परिवारलाई तत्काल १५ हजार र बढी भएमा २० हजार रुपैयाा दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
विपतका घटनामा परी खाद्यान्न तथा हाल बसोबास गरिरहेको घर पूर्ण रुपमा नष्ट भएमा वा घर नष्ट नभए पनि जोखिम रहेमा सुरक्षित स्थानमा घर निर्माण गर्न सरकारले तत्काल १ लाख रुपैयाँसम्म सहायता दिनेछ ।
घाइतेलाई सरकारी अस्पतालमा उपचार गराउँदा लागेको खर्च र अस्पतालबाट घर जान प्रतिव्यक्ति १ हजार यातायात खर्च पनि सरकारले दिनेछ ।
