मनहरी गाउँपालिकाको आगामी आवको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित
मकवानपुर । मनहरी गाउँपालिकाको आज बसेको सातौँ गाउँसभाको बैठकले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि कूल ७६ करोड १६ लाख ३५ हजार ४ सय २० रुपैँयाको बजेट सर्वसम्मतीले पारित गरेको छ ।
गत असार १० गतेको गाउँसभा बैठकमा सार्वजनिक गरिएको वार्षिक बजेट र नीति तथा कार्यक्रममाथि लगातार छलफल गरी आजको गाउँसभा बैठकबाट सर्वसम्मतीले पारित गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले तु खबरलाई जानकारी दिएका छन् ।
गाउँसभाले स्थानीय बन ऐन, ऋण ऐन र खानेपानी बोर्ड ऐन पनि सर्वसम्मतीले पारित गरेको छ ।
आगामी आवमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न उच्च प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रका कामहरु गरिने गाउँपालिकाले जनाएको छ ।
आर्थिक, सामाजिक, भौतिक तथा मानविय विकासका गतिविधिहरु सम्पादन गरी मनहरी गाउँपालिकालार्य सक्षम र समृद्ध बनाइने योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकाले आगामी आवमा विशेषगरी कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानी, सडक सुधार तथा कालोपत्रे, ग्रामिण विद्युतीकरण, शिक्षा स्वास्थ्य रोजगार जस्ता क्षेत्रमा प्रभावकारी ढंगले काम गर्ने लक्ष्य लिएको अध्यक्ष उप्रतीको भनाई छ ।
उनका अनुसार चालु आर्थिक बर्ष ०७६/७७ को संचित कोषको रकम कूल बजेटमा थप गरिने छ । आगामी हिउँदे अधिवेशनमा संचित कोषमा कति रकम बाँकी रहन्छ सो रकम आगामी आवको बजेटमा थप गरिने उनको भनाई छ ।
