अक्सिजन बन्द गरेर बिरामीको हत्या !

एजेन्सी
२०७७ असार १६, मंगलवार १४:१४

काठमाडौं । ‘तपाईंले सरकारी अस्पतालमा कुनै खतरा हुँदैन भन्नुभएको थियो । मैले हुँदैन भनेको थिएँ । तर मलाई तपाईंले सरकारी अस्पताल भर्ना गर्नुभयो । डाक्टरले मार्छन् भन्ने कुरा तपाईंले मान्नु भएन । यहाँ कोही बाँच्दैनन् । म श्वास फेर्न सकिरहेको छैन । मैले पटकपटक हात जोडेर बन्द नगर्न बिन्ती गर्दा पनि उनीहरूले मेरो अक्सिजन बन्द गरिदिए ।’

यी हैदरावादको एक सरकारी अस्पतालमा मृत्युवरण गरेका एक व्यक्तिका अन्तिम शब्दहरू हुन् । उनले आफ्नो अन्तिम क्षणमा रेकर्ड गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

३४ वर्षीय रवि कुमारका बाबुले इर्रागड्डा अस्पतालमा काम गर्नेमाथि आफ्ना छोराको अक्सिजन बन्द गरेर हत्या गरेको आरोप लगाइरहेका छन् । अस्पताल प्रशासनले यो आरोपको खण्डन गरेको छ ।

अस्पताल प्रशासनले कोरोना भाइरसले सिधै रविको मुटुमा आक्रमण गरेका कारण उनको मृत्यु भएको जनाएको छ ।

रवि कुमारको सेल्फी भिडियो अघि के भयो ?
रविलाई गत २४ जूनमा उच्च ज्वरो आयो । श्वास फेर्नमा समस्या भएपछि इर्रागड्डा जलरन एन्ड चेस्ट अस्पतालमा भर्ना गरियो । तर, दुई दिनमा नै रविको मृत्यु भयो ।

उनी कोरोना संक्रमित थिए वा थिएनन् भन्ने कसैलाई थाहा थिएन । २३ जूनमा रविका बाबु वेन्कटस्वारलु रविलाई ज्वरो आउनुका साथै श्वास लिन समस्या भएपछि नजिकैको अस्पतालमा लिएर गएका थिए । तर, उनलाई ज्वरो भएका कारण अस्पतालले कोरोना संक्रमण हुन सक्ने बताए ।

कोरोना रिपोर्टसहित आएमा भर्ना गर्न सकिने सो अस्पतालले जवाफ दिएको थियो । त्यसपछि वेन्कटस्वारलु १० अस्पतालमा जाँदा पनि उपचार गर्न अस्वीकार गरे । छोरालाई उपचारका लागि धेरै अस्पताल लगेका उनका बाबु वेन्कटस्वारलु भन्छन्, ‘केही अस्पतालले त ढोकाबाट भित्र जानसमेत दिएनन् ।’

रवि अन्तिममा भन्छन्, ‘बाबा, मलाई अक्सिजन दिइरहेका छैनन्, म मर्दै छु । अलबिदा बुबा ।’ (उनले यो भिडियो आफ्नो जीवनको अन्तिम समयमा बनाएर आफ्नो बाबुलाई पठाएका थिए ।)

उनका बाबु भन्छन्, ‘उनीहरूले शरीरको तापक्रम नापे र अस्पतालका ढोका बन्द गरे । सानादेखि ठूला अस्पतालले समेत मेरो छोरालाई भर्ना गरेनन् । किनकि उनीहरूले कोरोना परीक्षणको रिपोर्ट मागिरहेका थिए । यस कारण मैले कोरोना परीक्षण गराउने कोसिस गरेको थिएँ । हरेक परीक्षण केन्द्रमा बिरामीको भीड लागेको थियो । म छोराको परीक्षण गराउन पनि सक्छु या सक्दिनँ भन्ने सोचेर प्राइभेटमा चेक गराउने निधो गरेँ । तर, उसको रिपोर्ट मृत्युपछि मात्रै आयो ।’

वेन्कटस्वारलुले कोरोनाको नमुना परीक्षणका लागि दिएपछि सरकारी अस्प्तालमा भर्ना गरेका थिए । वेन्कटस्वारलुका अनुसार त्यसबेला पनि उनलाई श्वास लिन गाह्रो भइरहेको थियो । रविले राति व्हाट्सएप म्यासेज पठाउँदा उनी अस्पतालनजिकै थिए ।

वेन्कटस्वारलु भन्छन्, ‘म अस्पताल परिसरमा नै सुतिरहेको थिएँ । राति २ बजे ब्यूँझिएर मोबाइल हेर्दा उनको भिडियो म्यासेज आएको थियो । त्यो हेर्दा उसले भनिरहेको थियो– बाबा म मर्दै छु, अलबिदा !’ यो भिडियो हेरेपछि म अस्पतालको वार्डतिर गएँ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*