बजेटमा विवाद, सत्तापक्षकै सांसदको अवरोध, संसद अनिश्चित
मकवानपुर । बागमती प्रदेश, प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
बजेटको विषयमा सत्तारुढ दलभित्रै तिब्र विवाद भएपछि सभामुख सानुकुमार श्रेष्ठले कार्य व्यवस्था परामर्श समितिको बैठकबाट निर्णय समेत नगरी, बैठक स्थगित गरिनेबारे कुनै पूर्व जानकारी नदिई बैठक स्थगित गरिदिएका छन् ।
प्रदेश सभामा गत असार १ गते आगामी आर्थिक वर्ष ०७७÷७८ को लागि सरकारले बजेट प्रस्तुत गरेको थियो । सो बजेटमाथि छलफल गरी बजेट पास गर्नुपर्ने समयमा अनिश्चित कालको लागि बैठक स्थगित भएको हो ।
प्रदेश सभा सदस्यहरुले बजेटको रातो पुस्तक नपाएको र पुस्तक नपाएसम्म बजेटमाथि छलफल अगाडि नबढाउने अडान सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले राखेपछि बैठक स्थगित गर्न सभामुख बाध्य भएका हुन् ।
प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ र उपनेता कृष्णलाल भडेँलले निरन्तर बैठक संचालन गरेर बजेट पास गर्ने काम अगाडि बढाउन आग्रह गरेका थिए । बजेट र केही बिधयक पारित गरिसकेपछि बरु केही समय ग्याप राखेर सभा सुरु गरौँ भन्ने आग्रह गरेका थिए ।
तर सभामुख सानुकुमार श्रेष्ठलाई सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले बजेट पुस्तको बृस्तृत अध्ययन गरेसम्म कुनैपनि हालतमा बजेटबारे छलफल अघि नबढ्ने अडान राखेपछि श्रेष्ठले अनिश्चितकालको लागि सभा स्थगित गरेका हुन् ।
यस विषयमा तु खबर डटकम ले प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई बैठक बजेट पास नगरी किन अनिश्चितकालको लागि स्थगित भएको हो भनेर प्रश्न गरेको थियो, उनले भने – ‘प्रदेश सभा सदस्यहरुले बजेटको रातो पुस्तक पढ्न पाउनुपर्छ भन्दै माग गर्नुभयो तर पुस्तक प्रदेशसभा सचिवालयमा उपलब्ध थिएन, त्यसकारण स्थगित गर्नुपरेको हो ।’
सत्तापक्षका प्रदेशसभा सदस्यहरु गणेश दुलाल, नारायणबहादुर सिलवाल, शशीजंग थापा, शान्तिप्रसाद पौडेललगायतकाहरुले रातो पुस्तक नपाएसम्म छलफल नहुने अडान राखेका थिए ।
