मउवासंघ सचिव अधिकारीलाई बर्खास्त गर्न माग
मकवानपुर, मणि खाद्यन्न सेन्टरका संचालक तथा मकवानपुर उद्योग बाणिज्य संघका सचिव काब्यमणि अधिकारीलाई सचिव तथा प्रवक्ताको पदबाट बर्खास्त गर्न माग भएको छ ।
मकवानपुर जागरण अभियानका अध्यक्ष तथा व्यवसायी कृष्णराज कोइरालाले अधिकारीलाई तत्काल उद्योग वाणिज्य संघको बोर्ड बैठक बसी बर्खास्त गर्न माग गरेका हुन् ।
तु खवरसँग कुरा गर्दै अध्यक्ष कोइरालाले मउवासंघ अध्यक्ष कृष्ण कटुवाललाई समेत आफूले अधिकारीलाई बर्खास्त गर्न आग्रह गरेको वताए ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको नेतृत्वको अनुगमन टोलीले बढीमा आधा किलोसम्म तौल कम भएको चामलको बोरा भेटेको थियो । सो बोरा नष्ट गरी प्रमाण समेत नष्ट गरेको भन्दै उनीमाथि कारवाही हुनुपर्ने माग गरिएको हो ।
अनुगमन टोलीलाई अधिकारीले मुसाले चामलको बोरा प्वाल पारेको र चामल खाएको भनी प्रष्टिकरण दिएका थिए ।
सो घटनासँग जोड्दै कोइरालाले उनीमाथि तत्काल कारवाहीको माग गरेका हुन् । जागरण अभियानले यस अघि पनि समाजमा भएका भ्रष्टचार विरुद्ध आवाज उठाउँदै आएको छ ।
