फलोअप – मकवानपुर उद्योग वाणिज्य संघका सचिव काब्यमणि अधिकारीको पसलमा अनुगमन टोली पुगेपछि के भयो ?

तु खबर संवाददाता
२०७७ बैशाख १८, बिहीबार १३:१६

मकवानपुर । लकडाउनको अवधिमा हेटौँडाका केही खाद्यान्न व्यवसायीहरुले कालोबजारी गरिरहेको भन्ने गुनासो बढेपछि आज विहिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हीत संरक्षण मञ्चलगायतका संघसंस्थाको हेटौँडाका केही खाद्यान्न पसलहरुमा अनुगमन गरिएको छ ।

अनुगमनकै क्रममा आज विहान ९ बजे हेटौँडा २ प्रभाकरपथ स्थित मणि खाद्यान्न सेन्टरमा टोली पुग्यो । टोलीले अनुगमनको प्रत्रिया अघि बढायो । अनुगमनमा म्याद सकिएका खाद्यान्नका बोराहरु फेला परे, खाद्यान्नहरु अव्यवस्थित रुपमा राखिएको अवस्थामा फेला पर्यो । मणि खाद्यान्न सेन्टरले कम तौलको चामल विक्रि वितरण गरिरहेको गुनासो छ भन्दै टोलीले चालमको बोरा जोख्न थाल्यो ।

मकवानपुरका पत्रकारहरुकै रोहबरमा चामल जोखियो, जगत नामको चामलको बोरामा आधा केजीसम्म तौल कम भएको फेला पर्यो ।

उद्योग वाणिज्य संघका सचिव अधिकारी कै पसलबाट कालोबजारी

मकवानपुर उद्योग वाणिज्य संघले लकडाउनको अवधिमा प्रशासनलाई गुमराहमा राखेर कालोबजारीलाई प्रोत्साहन दिएको छ ।

२ महिनासम्म पुग्ने खाद्यान्न स्टक छ भन्दै सोही स्टक राखिएको खाद्यान्नको मुल्यबृद्धि गरिएको छ । लकडाउनको अवधिमा जनता संकटमा छन् ।

राहतको भरमा दैनिक जीवनयापन गर्नुपर्नेसम्मको अवस्था छ । संकटको समयमा जनताको हीतमा काम गर्नुपर्ने उद्योग वाणिज्य संघका पदाधिकारी नै कालोबजारीमा संलग्न देखिएको छ ।

संघकै सचिव काब्यमणि अधिकारीकै चामलको गोदाममा २५ किलोको बोरामा आधा केजीसम्म कम तौल भएको भेटिएपछि सचिव अधिकारीबाट नै उपभोक्ता ठगिएको पुष्टी भएको हो ।

अनुगमन टोलीकै अगाडि अधिकारीले प्रमाण नष्ट गरे

अनुगमनको टोलीले आधाकेजीसम्म कम तौल भएको चामलको बोरा फेला पार्यो । टोली मुचुल्का उठाउनतर्फ लाग्यो सोही अवधिमा अधिकारीले कामदार लगाएर नमुना संकलनको लागि छनौट गरिएका ६ वटै चामलको बोरा पत्तीले काट्न लगाए ।

उनले उक्त बोरा मुसाले खाएको र मुसाले खाएकै ठाउँबाट चामल चुहिएर तौल कम भएको अनुगमन टोलीलाई बयान दिए ।

टोलीले केही समयअघिसम्म यो बोरा सकुसल थियो पाँच मिनेटमै कसरी मुसाले खायो भन्दै प्रश्न गरेपछि अधिकारीले कामदारले यस्तो गरेको हुनसक्ने बताए ।

उद्योग वाणिज्य संघको अगाडि प्रशासन गल्यो

अनुगमन टोलीले गोदाममा म्याद सकिएका दालको बोरा, तौल कम भएका चामलका बोरा फेला पारेपछि गोदाम नै सिल गर्नुपर्ने निचोड टोलीले निकाल्यो ।

तर उक्त गोदाममा सिल गर्दा सबै व्यवसायीले विरोध स्वरुप लकडाउन भरी आफ्नो व्यवसाय बन्द गर्ने उद्योग वाणिज्य संघले प्रशासनलाई घुर्की देखायो ।

अन्तत प्रमुख जिल्ला अधिकारीले झारा टारे । उनले एउटामात्रै सटरमा ताला लगाउन आदेश दिए । टोलीले त्यसै गर्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*