यस्तो छ – विप्लव नेता हेटौंडाका नयन पक्राउको रामकहानी
बारा । विप्लवका जिल्ला इन्चार्ज इन्द्रबहादुर परियार नयन अहिले इलाका प्रहरी कार्यालय चपुरको हिरासतमा छन् । लकडाउन उलंघन गरी प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा नयनलाई अनुसन्धान गर्न म्याद लिई आफ्नो हिरासतमा राखिएको चपुर प्रहरीले बताएको छ ।
फागुनको २४ गते बाराको जितपुरबाट पक्राउ परेका नयन बैशाख ८ गते मात्र जिल्ला अदालत बाराको आदेशमा ६० हजार धरौटी बुझाएर रिहा भए । रिहा भए त के भन्नु बाहिर निस्कने वित्तिकै अदालतको कम्पाउण्डबाटै प्रहरीले फेरी पक्राउ गर्यो । जिल्ला प्रहरी कार्यालय बारामा लगी परिवारलाई जिम्मा लगाएर छोड्ने बतायो । उनकी श्रीमति लक्ष्मीकुमारी श्रेष्ठले बताए अनुसार, जिल्ला अदालत परिसरबाट फरि पक्राउ गरिसकेपछि प्रहरीले भोलिपल्ट आउन भन्यो ।
भोलिपल्ट श्रीमान् छुटाउन जिल्ला प्रहरी बारा पुगेकी श्रेष्ठलाई नयनका बारेमा कुनै जानकारी दिइएन । कहाँ पठाइयो, के गरियो भनी बारम्बार सोधपुछ गर्न थालेपछि बल्ल चपुर प्रहरीले उतै लगेको जानकारी दिइयो ।
वैशाख ८ गते बिहान नयनलाई इलाका प्रहरी कार्यालय चपुर पुर्याइयो । प्रहरीका अनुसार, अहिले उनलाई लकडाउन उलघंन गरी प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा चपुर प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । नयनका कानूनी सल्लाहकार अधिवक्ता केशव गौतमले दिएको जानकारी अनुसार, महिनौ अघिदेखि प्रहरी हिरासतमा रहेका व्यक्तिले कसरी लकडाउन उलघंन गर्ने ?
परिवारले भने फर्जी अभियोगका आधारमा नयनलाई नियन्त्रणमा लिएको आरोप लगाएको छ । बारा जिल्ला प्रहरीको हिरासतमा रहेको व्यक्ति अघिल्लो दिन साँझमात्र अदालतको आदेशमा रिहा भएका व्यक्ति भोलिपल्टै रौतहट पुगेर लकडाउन उलंघन गर्ने कुरै हुन्न, परिवारको दावी छ । प्रहरीले बारम्बार झुटा मुद्धा लगाएर पक्राउ गरिरहेकोमा परिवारले आपत्ति समेत जनाएको छ ।
उता, इलाका प्रहरी कार्यालय चपुरका प्रहरी निरीक्षक राजन थापाले चपुरकै ४ नम्बर वडाबाट नयनलाई पक्राउ गरिएको दावी गरेका छन् । यहाँ लकडाउन उलघंन गरी प्रहरीलाई अभद्र व्यवहार गरेका रहेछन्, सोही मुद्धामा उनीमाथि अनुसन्धान भइरहेको छ, प्रहरी निरीक्षक थापाले तु खबरसँग भने ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले अदालतबाट रिहा भइसकेका विप्लव नेता नयनलाई आफूहरुले पक्राउ नगरेको दावी गरेका छन् । हामी पक्राउ गरेका होइनौ, उनले तु खबरसँग भने ।
तर, तु खबरको विश्वासनीय स्रोतले भने नयनलाई बारा प्रहरीले अदालत परिसरबाट पक्राउ गरेको बताएको छ । अदालतले ६० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो, उनी रिहा भएलगत्तै कम्पाउण्डबाट फेरि प्रहरीले पक्राउ गर्यो, स्रोतले भन्यो ।
विप्लव नेता नयन हेटौंडा उपमहानगरपालिकाका बासिन्दा हुन् ।
यो पनि पढ्नुहोस्
- हेटौंडाका ‘नयन’ जितपुरबाट पक्राउ
- विप्लव नेता हेटौँडाका नयन अदालतको आदेशमा रिहा भएपनि, झुटो मुद्धा लगाएर फेरि पक्राउ
