विप्लव नेता हेटौँडाका नयन अदालतको आदेशमा रिहा भएपनि, झुटो मुद्धा लगाएर फेरि पक्राउ
रौतहट । विप्लवका नेता इन्द्रबहादुर परियार नयनलाई प्रहरीले पुनः पक्राउ गरी अपहरणको शैलीमा रौतहट ल्याइपुर्याएको छ ।
बारा प्रहरीले अपराधिक उपद्रवमा मुद्धा पेश गरेपछि वैशाख ०८ गते जिल्ला अदालत बाराले ६० हजार धरौटीमा रिहा गर्न आदेश दिएको
थियो ।
अदालतको आदेश अनुसार, सोही दिन रिहा हुनुपर्ने नयनलाई पुनः बारा प्रहरीले अदालत परिसरबाटै पक्राउ गरी रौतहट पठाइदिएको हो ।
नयनलाई के अभियोग लगाइएको छ र उनलाई कहाँ पठाइएको छ भन्ने जानकारी उनको परिवारले समेत नपाएको पारिवारको दावी थियो । तर, पछि लकडाउन उलंघन गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जानकारी दिएको छ । गोप्य रुपमा रौतहट पठाएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
अदालत परिसरबाटै प्रहरीको नियन्त्रणमा रहेको व्यक्तिले कसरी लकडाउन उलंघन गर्यो भनेर तु खबरले रौतहटका प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीलाई सोधेको थियो । कार्कीले इलाका प्रहरी कार्यालय चपुरले पक्राउ गरेकाले थप जानकारी उतैबाट लिन आग्रह गरे ।
उनको परिवारले भने गैरकानूनी तरिकाले प्रहरीले पक्राउ गरेकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरिएको जनाएको छ ।
लकडाउन सुरु हुनु अघि नै प्रहरीले पक्राउ गरी मुद्धा चलाएको मानिसले कसरी लकडाउन उलंघन गर्छ र प्रहरीलाई अभद्र व्यवहार गर्छ, यस्तो झुटा मुद्धा लगाइएकोमा परिवारको आक्रोश छ ।
इलाका प्रहरी कार्यालय चपुरका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए अनुसार, नयनलाई प्रहरीमाथि अभद्र व्यवहार गरेको कसूरमा पक्राउ गरी ५ दिनको म्याद थप गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको थापाले जानकारी दिएका छन् ।
