विकास निर्माणको कार्य तीब्रताको साथ अघि बढिरहेको छ : मुख्यमन्त्री पौडेल
हेटौंडा, ५ चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणको कार्य तीब्रताका साथ अघि बढिरहेको बताउनुभएको छ ।
मुख्यमन्त्री पौडेलले बुधबार (आज) बसेको प्रदेशसभा बैठकमा केहीदिनअघि प्रदेशसभाका सदस्यहरुले शुन्य र विशेष समयामा उठाउनुभएको प्रश्नको जबाफ दिनुहुँदै सो कुरा बताउनुभएको हो ।
उहाँले स्थायी राजधानी हेटौंडालाई जोड्ने भीमफेदी–कुलेखानी सडक निर्माणको स्तरोनती, ढल निकास र कालोपत्रे गर्ने कार्य तीब्रताका साथ अघि बढिरहेको बताउनुभयो ।
भीमफेदी–कुलेखानी सुरुङ मार्गको सम्भाव्यता अध्ययनको रिपोट प्राप्त भएपछि आगामी बैशाखको दोस्रो हप्ताभित्रै सुरुङ निर्माणको लागि टेन्डर आह्वान गर्न लागिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री पौडेलले अहिले हेटौंडा–कुलेखानी–बल्खु हुँदै काठमाडौं जोड्ने सडकको निर्माण प्रकृयालाई तीब्रता दिइएको जानकारी दिनुभयो ।
सो क्रममा उहाँले एक प्रश्नको जबाफ दिनुहुँदै प्रदेशमा जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत स्वरुप यस वर्षदेखि लागू हुने गरी क्षतिपूर्ति अनुदान रकम उपलब्ध गराउने सरकारको नीति भएको बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले सरकारले आफ्नो नीति कार्यक्रममा समावेश गरिएका विभिन्न राष्ट्रिय गौरबको आयोजना निर्माणको लागि टेन्डरको माग गर्ने तयारी भइरहेको पनि स्पष्ट पार्नुभयो ।
