‘बागमती प्रदेश सरकारले पत्रकारलाई आन्दोलन गर्नुपर्ने बनाउँदैन’

तु खबर संवाददाता
२०७६ चैत्र २, आईतवार १४:०७

हेटौंडा, २ चैत्र । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले पत्रकारहरुले अन्दोलन गर्नुपर्ने दिन नआउने बताउनु भएको छ । बागमती प्रदेश सरकारले पत्रकारहरुलाई आन्दोलन गर्नुपर्ने अवस्थामा आउन नदिन गम्भिर भएको बताउनु भएको हो ।

आज आइतबार हेटौंडामा भएको ‘प्रेस स्वतन्त्रता र प्रदेश सञ्चार ऐन’ विषयक अन्र्तक्रिया कार्यक्रमलाई संबोधन गर्दै उहाँले प्रेस स्वतन्त्रतालाई प्रतिकुल हुने खालको कुनै पनि ऐन, नियम बागमती प्रदेश सरकारले नल्याउने स्पष्ट पार्नु भएको छ । ‘पत्रकारहरुलाई फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउन दिनु हुँदैन,’ सभामुख श्रेष्ठले भन्नु भयो ।

‘हामी यतिका वर्ष संघर्ष गरेर राज्यव्यवस्था परिवर्तन गर्दै याहाँसम्म आइपुगेको छौं । परिवर्तनका लागि अब फेरि पत्रकारहरुले संघर्ष गरिराख्नु पर्दैन । संघर्ष गर्नुपर्ने अवस्था आउन हामी दिँदैनौ ।–’ साभामुख श्रेष्ठले भन्नु भयो, ‘हिजो हामी प्रेसलाई अंकुश लगाउन हुँदैन भनेर आन्दोलन गर्यौ । अब हामी नै त्यस्तो हुन दिँदैनौं ।’

उहाँले देशमा सुशासन कायम गराउन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । देशमा राजीनितक व्यवस्था परिवर्तन भएपनि आर्थिक समृद्धि हुन नसकेको भन्दै उहाँले मुलुकका सुशासनको आवश्यकता रहेको बताउनु भयो । श्रेष्ठले नेपालमा ऐन, नियम र कानुन कार्यान्वयनको अवस्था फितलो भएको बताउनु भयो ।

केन्द्रदेखि स्थानीयतहसम्मै कानुन कार्यान्वयनको अवस्था कमजोर रहेको उहाँले बताउनु भयो । प्रदेशले निर्माण गरेका कानुन राम्रो भएको भन्दै केन्द्रीय सरकारकै कानुन संशोधन गर्नुपर्ने माग उठ्ने गरेको सभामुख श्रेष्ठले बताउनु भयो । प्रदेश सांसदहरुको मुख्यकाम कानुन निर्माण गर्नुपर्ने भएता पनि आफ्नो निर्वाचन क्षेत्रमा विकास गर्न भन्दै कानुन निर्माणमा गम्भिर नभएको उहाँले बताउनु भयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले प्रेसलाई अंकुश लगाउने कानुन निर्माण भए नेपालको सञ्चार जगतले त्यस्तो कानुनको अवज्ञा गर्ने बताउनु भएको छ । प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने कानुनलाई नेपालका पत्रकारले अवज्ञा गर्नसक्ने हैसियत राख्ने भन्दै पोख्रेलले राज्यको चरित्र आफू विरुद्ध आवाज नउठोस भन्ने रहेको धारणा व्यक्त गर्नु भयो ।

उपाध्यक्ष पोख्रेलले प्रेस स्वतन्त्रतालाई संकुचन गर्न खोजे मुलुकका खतरा हुने चेतावनी दिनु भयो । पत्रकारहरु आन्दोलनमा आउनुनपर्ने गरी कानुन निर्माण गर्न सरकारलाई उहाँले आग्रह गर्नुभयो । प्रेस स्वतन्त्राको विश्वव्यापी मान्यतालाई ध्यानमा राखेर कानुन बनाउनु उहाँको आग्रह छ ।

नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, महासंघ बगमती प्रदेश अध्यक्ष प्रताप विष्ट, महासंघ प्रदेश सल्लाहकार गिरिजा अधिकारी, महासंघ केन्द्रीय सदस्यहरु कृष्ण गिरी, सिर्जना अर्याल, द्वारिका  काफ्लेलगायतको आतिथ्यता थियो । महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*