बागमती प्रदेशका सबै जिल्लामा युवा समिति गठन गर्ने

तु खबर संवाददाता
२०७६ फाल्गुन ३०, शुक्रबार ०८:५२
फाइल तस्बिर

मकवानपुर, ३० फागुन । बागमती प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा युवा समिति गठन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले तयार गरेको युवा परिषद् विधेयकमा प्रत्येक जिल्लामा पाँच सदस्यीय युवा समिति गठन गर्न सकिने प्रस्ताव छ ।

प्रदेशमा भने १७ सदस्य रहने परिषद् गठन गर्ने प्रस्ताव गरिएको छ । सम्बन्धित मन्त्री अध्यक्ष र कार्यकारी अधिकार भएको उपाध्यक्षसहित विषय विज्ञको सहभागिता रहने गरी १७ सदस्यीय परिषद् प्रस्ताव गरिएको हो ।

परिषद्ले युवासम्बन्धी दीर्घकालीन नीति तर्जुमा गरी प्रदेश सरकारसमक्ष सिफारिस गर्ने, युवासम्बन्धी योजना तथा कार्यक्रम बनाएर कार्यान्वयन गर्ने, सीप, मनोरञ्जन, स्वयंसेवा, नेतृत्व विकास, उद्यमशीलता, रोजगार, विज्ञान, सूचना तथा प्रविधिको क्षेत्रमा युवाको प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गर्न सक्ने, युवा विकास, सशक्तिकरण एवं मूल प्रवाहीकरणसम्बन्धी विषयमा प्रदेश सरकारलाई सुझाव दिने गरी परिषद्ले काम गर्न सक्ने प्रस्ताव विधेयकमा गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा अन्य दुुई जना विज्ञ रहेको तीन सदस्यीय समितिले उपाध्यक्ष सिफारिस गर्ने र प्रदेश सरकारले उपाध्यक्ष नियुक्ति गर्ने प्रस्ताव विधेयकमा गरिएको छ । परिषद्अन्तर्गत उपाध्यक्षको नेतृत्वमा पाँच सदस्यीय कार्यकारी निकायको रूपमा काम गर्ने कार्यकारी समिति गठन गर्ने प्रस्ताव पनि गरिएको छ ।

उक्त समितिले परिषद्को वार्षिक योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृतिको लागि परिषद्समक्ष पेस गर्ने, युवासम्बन्धी विभिन्न निकायद्वारा सञ्चालित कार्यक्रमको समन्वय गर्ने, सूचना व्यवस्थापनको काम गर्नेछ । विधेयक शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा दफावार छलफलमा छ । सैद्धान्तिक छलफलमा सहभागी सांसदले परिषद्लाई युवा भर्तीकेन्द्रको रूपमा अगाडि बढाउन नहुने सुझाव दिएका छन् ।

‘युवाको समग्र विकासका लागि परिषद्ले काम गर्नुपर्छ,’ कांग्रेस प्रमुख सचेतक राधा घलेले भनिन्, ‘यो कार्यकर्ताको भर्तीकेन्द्र नहोस्.’ नेकपा सांसद नारायणप्रसाद सिलवालले नियुक्तिका लागिमात्रै परिषद् गठन गर्न नहुने बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*