हेटौंडामा अमेरिकी ब्राण्डको पेयपदार्थ

तु खबर संवाददाता
२०७६ फाल्गुन २९, बिहीबार १७:३८

हेटौंडा, २९ फागुन । कोकाकोला, पेप्सीकोला जस्तै अन्तर्राष्ट्रिय ब्राण्डको पेयपदार्थ करिब दुई महिना भित्र हेटौंडामा उपलब्ध हुने भएको छ ।

अमेरिकी ब्राण्डको आर्सीकोला कम्पनीको फ्रेन्चाईजमा हेटौंडामा पेयपदार्थ उत्पादन उद्योग स्थापना भएको हो । जोगी तालमा ३ विगाह जमिन खरिद गरी पेयपदार्थ उद्योग स्थापना गरिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनु भयो ।

मकवानपुरको मनहरी गाउँपालिका–६ जोगीतालमा उद्योग स्थापना गरिएको हो । हेटौंडाबाट करिब ४० किलोमिटर पश्चिम लोथर नजिकै स्थापित उद्योगले बैशाखको आन्तिम सातासम्म व्यवसायिक उत्पादन सुरु गर्ने उद्योगका संचालक सुवास आचार्यले बताउनु भयो । संचालक आचार्यका अनुसार पहिलो चरणमा उद्योगमा ४० करोड रुपैयाँ लगानी गरिएको छ ।

उद्योगले अमेरिकी कम्पनीसँग फ्रेन्चाइज् शुल्क तिरेर आर्सीकोला, आर्सीक्यू ओरेन्ज्, आर्सीक्यू लेमनलाइन बजारमा ल्याउने तयारी गरेको आचार्यले बताउनु भएको छ । बहुर्राष्ट्रिय कम्पनीको इनर्जी ड्रिङ्क्स जी पावर पनि उत्पादन गरिने उहाँले जानकारी दिनु भयो । उद्योगले अन्तर्राष्ट्रिय गुणस्तरको ड्रिङ्किङ वाटर पनि उत्पादन गर्ने तयारी गरेको छ ।

पहिलो चरणमा पेयपदार्थको परीक्षण उत्पादन गरी गुणस्तर मापदण्ड पुरा गर्ने क्रममा रहेको संचालक आचार्यले जानकारी दिनुभयो । कोरोना संक्रमण महामारीको रुपमा फैलिएका कारण केही उपकरण र केमिकलहरु समय आपूर्ति नसकेकोले समस्या भइरहेको आचार्यले बताउनु भयो । उद्योगले आफ्नै माउण्ट भिटा ब्राण्डमा पेयपदार्थ बजारमा ल्याउने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*