राप्रपाका तीन अध्यक्षद्वारा पदभार ग्रहण
काठमाडौं, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीनै जना अध्यक्षले पदभार ग्रहण गर्नुभएको छ । उहाँहरुले राप्रपाको पार्टी कार्यालय चाबहिलमा अध्यक्षको पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहणगर्दै अध्यक्ष कमल थापाले राप्रपालाई काँग्रेस र कम्युनिष्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यकासाथ पार्टी एक भएको बताउनुभयो ।
त्यस्तै पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले देशप्रतिको राष्ट्रहितको जिम्मेवारी महसुस गर्दै पार्टी एकता गरिएको बताउनुभयो । उहाँले राम्रो मान्छेलाई प्रोत्साहन गर्दै पार्टीलाई बलियो बनाउने गरी कमिटि गठन गर्नुपर्नेमा जोड छ ।
यसैगरी पार्टीका अर्का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले जनतालाई धोखा दिएपनि प्रतिपक्षी दलले त्यसको खवरदारी गर्न नसकेको गुनासो गनुभयो । ‘जनतामाथि भएको धोखा र कुकर्मको विरुद्धमा जनताको पक्षमा बोल्ने पार्टीको आवश्यकता परेकाले पार्टी एक गरिएको छ’ उहाँको भनाइ थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच बुधबार पार्टी एकता घोषणा भएको थियो ।
