रक्सी सेवनले कोरोना निको हुने गलत हल्लाले २७ जनाको ज्यान गयो
काठमाडौं, २७ फागुन । कोरोना भाइरस (कोभिड–१९)का बारेमा फैलिएको गलत हल्लालाई विश्वास गर्दा इरानमा २७ जनाले ज्यान गुमाउनु परेको छ ।
मादक पदार्थ (रक्सी)सेवनले कोरोना भाइरसको संक्रमण र निको हुने गलत हल्लाले गर्दा २७ जनाले ज्यान गुमाउनु परेको हो । यतिखेर इरानमा कोरोनाभाइरसको संक्रमण खतरनाक ढंगले फैलिँदै गइरहेको छ ।
हालसालैको तथ्यांकले चिनको भन्दा इरानमा कोरोना संक्रमण भएका बिरामी भेटिएको बताइएको छ । इरानमा रक्सीको सेवन गर्दा कोरोनाभाइरसको संक्रमणले नभेट्ने र निको पनि हुने गलत हल्ला पनि डरलाग्दो गरी फैलिरहेको छ ।
यही हल्लाको विश्वास गरेर इरानमा गैरकानूनी रुपमा बनाइएको रक्सी पिउँदा मेथानोल विषको असर भएर २७ जना मानिसहरुको संसार छोड्नु परेको छ । इरानको खुजेस्तानको राजधानी अहभाजस्थित जन्डिसापुर मेडिकल युनिभर्सिटीका प्रवक्ताले जानकारी दिए अनुसार सोही कारण विरामी भएका २ सय १८ जनालाई अस्पतालमा भर्ना समेत गरिएको छ ।
उहाँका अनुसार, तिनीहरु ‘कोरोनाको उपचारमा रक्सीको सेवन प्रभावकारी हुने’ हल्लाका कारण रक्सी सेवन गर्दा उक्त घटना भएको हो । इरानमा रक्सीको सेवन निषेध छ । अल्पसंख्यकका रुपमा रहेका केही गैर मुस्लिम समुदायका मानिसहरुलाई मात्रै रक्सी सेवन गर्ने छुट छ ।
