प्रतिनिधिसभा बैठकः काँग्रेस सांसदले मागे प्रधानमन्त्रीको राजीनामा

तु खबर संवाददाता
२०७६ फाल्गुन २३, शुक्रबार १४:०२

काठमाडौं, २२ फागुन । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नुभएको छ ।

सांसद चौधरीले शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्नुहुँदै भ्रष्टाचारीलाई काम कारबाही गर्न नसकेका कारण प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्नुभएको हो ।

‘प्रधानमन्त्रीज्यू शरीरको अंग भएर पनि काम नलाग्ने भएपछि त फेर्न पर्दो रहेछ नि । त्यसैले आफ्नो आसेपासे भए पनि देश र जनताको काम नलाग्ने मान्छे, भ्रष्टाचारहरुलाई किन कारबाही अहिलेसम्म भइराखेको छैन ? नैतिकताको आधारमा राजीनामा दिन जोडदार माग गर्न चाहन्छु ।’ उहाँले प्रतिनिधि सभाको शुन्य समयमा भन्नुभयो ।

चीनबाट फैलिएको कोरोना भाइरस भन्दा भ्रष्टाचार ठूलो समस्याका रुपमा रहेको भन्दै उहाँले भ्रष्टाचारले आम जनताको रगत र पसिना चुसिरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको हालै मात्र मृगौला प्रत्यारोपण गरिएको छ । उहाँको सफल मृगौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई भान्जी नाता पर्ने समिक्षा संगौलाले मृगौला दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*