मुख्यमन्त्री शेरधनमाथि बालिकाका यस्ता छन् १० आरोप

तु खबर संवाददाता
२०७६ फाल्गुन १७, शनिबार १३:५५

कठामाडौं, १७ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध तत्कालीन नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालकी केन्द्रीय सदस्य बालिका खड्काले पतिको नाता कायम गरी अंश पाऊँ भनी मुद्दा दायर गर्नु भएको छ ।

शुक्रबार खड्काले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा मुख्यमन्त्री राईले आफूलाई पत्नीको रुपमा स्वीकार गरी शारीरिक सम्पर्क राखेको आरोप लगाउनु भएको छ ।

खड्काले राई युवा संघको इन्चार्ज हुँदाबाट चिनजान सुरु भएको र त्यसपछि दुवैबीच प्रेम भएको दाबी गर्नु भएको छ । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उहाँको सचिवालयको सदस्य हुनु भएकी खड्काले त्यस समयका सञ्चारमन्त्री राईले आफूलाई कार्यकक्षमै शारीरिक सम्पर्क राखेको पनि बताउनु भएको छ ।

त्यसैगरी विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि आयोजना गरेको भोजमा रक्सीले मात्तिएका राईले सार्वजनिक रुपमै आफूमाथि यौन हिंसा गरेको बताउनु भएको छ ।

यसविषयमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत जानकारी रहेको खड्काको दाबी छ।

फिरादपत्रमा खड्काले मुख्यमन्त्री राईमाथि लगाएका मुख्यमुख्य आरोप यसप्रकार छन्ः

१) २०७१ सालदेखि मुख्यमन्त्री शेरधन राईसँग चिनजान। तत्कालीन नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्य शेरधन राई युवा संघ नेपालको इन्चार्ज हुँदा नजिएको।

त्यस समयमा म युवा संघको केन्द्रीय सदस्य तथा महिला युथ फोर्स नेपालको केन्द्रीय सचिव थिएँ। दुवैले एकले अर्कोलाई मन पराउने गरेको र राईले नै आफूसँग रिलेसनमा बसौँ भनेको। त्यसपछि प्रेम सम्बन्ध, भेटघाट र उठबस बढ्दै गयो।

२) विद्यादेवी भण्डारी पहिलो पटक राष्ट्रपति भएको दिन रात्रीभोजमा पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकको उपस्थितिमै सार्वजनिक स्थलमा नै मदिराको सुरमा यौन दुव्र्यवहार गर्न कोसिस गरेको।

सार्वजनिक स्थलमा यस्तो नगर्नुस् भन्दा नटेरी अनेक हर्कत गरेको। तर त्यतिबेला रक्सीको सुरमा भएकाले क्षमा दिएको। भोलिपल्ट भेट हुँदा मदिराको सुरमा गल्ती गरेछु भनि क्षमा माग्दै फकाएको। शेरधनले आखिर हामी लोग्ने स्वास्नी नै हौं भनेको।

३) शेरधन सूचना तथा सञ्चारमन्त्री हुँदा कार्यकक्षमै पटकपटक यौन शोषण गरेको। केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा म प्रधानमन्त्रीको निजी स्वकीय अधिकृतको रुपमा नियुक्ति पाएको।

शेरधन सञ्चारमन्त्री भएकाले भेटघाट बसोबास सँगै रहेको। यसबीचमा शारिरिक सम्बन्ध पनि भयो। विवाहदर्ता गरेको थिएन। सन्तानको जायजन्म गराउँ भन्दा पनि शेरधनले अहिले होइन पछि गरौं भनेको।

४) २०७२ सालदेखि २०७४ सालसम्म गोल्फुटारमा रहेको घरमा डेरा गरी राखेको। लिभिङ टुगेदर जस्तो सम्बन्धमा नराख्नुस्, वैवाहिक सम्बन्ध पुष्टि गर्नुस् भन्दा भोलि–भोलि भन्दै टारेको र २०७५ कात्तिकमा उक्त डेराबाट निकालिएको।

५) प्रदेश १ को मुख्यमन्त्री भएपछि म विराटनगर आउँदा जाँदा प्रहरी लगाएर भेट्न नदिएको। जागिर र पार्टीको जिम्मेवारीबाट निकालिएको। त्यसविरुद्ध मैले पार्टीमा उजुरी दिएको।

६) सञ्चारमाध्यममा घटना सार्वजनिक गर्दा मुख्यमन्त्री राईले विराटनगर बोलाएर आफूलाई त्यस्तो विषयमा बाहिर नल्याउन सम्झाएको। पति–पत्नी हो भनी स्वीकार गरेको। विवाह दर्ता पछि गरौँला भनेको।

त्यसपछि १०–१२ दिन मुखमन्त्रीको निवासमा बसेको। त्यसपछि काठमाडौं गोल्फुटारमा बस्न पठाएको। मुख्यमन्त्री काठमाडौं आउँदा गोल्फुटारमै बस्ने गरेको।

७) यो विषयमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाललाई समेत जानकारी रहेको।

८) पछिल्लो समयमा माघ १४ गते काठमाडौंका गोल्फुटारमा आउँदा मुख्यमन्त्री राईसँग पारिवारिक विषयमा विवाद भएको।

मलाई खान बस्नको लागि खर्च किन दिन हुन्न ? भन्दा एकैचोटी मलाई झम्टिएर यो घरमा आजदेखि नटेक के गर्न सक्छेस् गर भनी जवाफ दिएको र कुटपिट गालीगलौज तथा यातना दिई प्रहरी लगाई निकालेको।

९) नेकपाको केन्द्रीय समितिको बैठकमा दुवै अध्यक्षलाई भेट्ख खोज्दा मुख्यमन्त्री राईको निर्देशनमा रोकिएको। मुख्यमन्त्री राईको निर्देशनमा आफूलाई अभद्र व्यवहारको मुद्दा लगाएर माघ २२ देखि थुनिएको र मुख्यमन्त्री राईलाई पति होइन भन्न बाध्य पारिएको।

अदालतको आदेशपछि फागुन ५ गते रिहा भएको। अहिले विभिन्न मानिसमार्फत ज्यान मार्ने धम्की दिने गरेको। सत्ता र शक्तिको दुरुपयोग गरेर प्रहरी प्रशासन र अन्य संयन्त्र हातमा लिएर जागिरबाट निकाल्न लगाएको र पार्टी सदस्य निलम्बन गराएको। आफूमाथि घरेलु हिंसा, शारीरिक तथा मानसिक यातना दिएको।

१०) मुलुकी देवानी संहिता, २०७४ अनुसार पति र मबीच एक अर्कोलाई पतिपत्नीको रुपमा स्वीकार गरी विवाह भएको भनी फिरादका एक दिनअघि (२०७६ फागुन १५)लाई मानो छुट्टिएको मिति कायम गरी जम्मा सम्पत्तिलाई २ भाग गरी एक भाग अंश दिलाइ पाऊँ। नेपाल खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*