गगन थापाले मागे प्रधानमन्त्रीको राजीनामा
काठमाडौँ, १३ फागुन । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री बन्ने संख्या संसदमा भएपनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेकाले राजीनामाको माग गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘संख्या तपाइँसँग होला तर शासन गर्ने वैधानिक योग्यता क्षमता तपाइँले गुमाउनु भएको छ । त्यसैले सम्माननिय प्रधानमन्त्रीजी नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाइँ स्वास्थ्य लाभ गर्न गइदिनुहोस् ।’
थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिना अघिनै प्रधानमन्त्रीले सुनेको दावी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन हिम्मत छ की छैन ? भन्दै प्रश्न गनुभयो ।
थापाले डाडाँकाडा र तालतलैया डुलेर बस्नुभन्दा प्रधानमन्त्रीले संसदमा आएर आँखामा आँखा जुधाएर जवाफ दिनुपर्ने बताउनुभयो ।
थापाले सेक्युरिटी प्रेसको ठेक्का मात्रै नभएर फोरजी विस्तार, अप्टिकल फाइबर विस्तार, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याव स्थापना लगायतका ठेक्काका बारेमा पनि प्रश्न उठेको बताउनुभयो ।
प्रधानमन्त्रीको जन्मदिनका विषयमा बाहिर टिप्पणी भइरहेको भन्दै थापाले पूर्वराजाहरुको न्यास्रो मेटाउने गरी प्रधामन्त्रीले जन्मदिन मनाएको भन्दै बाहिर प्रश्नहरु उठिरहेको बताउनुभयो ।
