जब सैनिकको मोबाइलमा युवतीको अर्धनग्न तस्वीर आयो
काठमाडौं, १२ फागुन । इजरायली सेनाका दर्जनौँ सैनिकका स्मार्टफोन युवतीका तस्वीर पठाएर ह्याक गरिएको छ । सेनाका प्रवक्ताका अनुसार युवा महिलाका तस्वीर पठाएर एक एप्लिकेसन डाउनलोड गर्न आग्रह गरियो ।
सैनिकलाई सो एप्लिकेसन डाउनलोड गर्दा आफ्नो फोन ह्याक हुन्छ भन्ने जानकारी थिएन । इजरायली सेनाले प्यालेस्टिनी समूह हमासमा आवद्धहरू यो कार्यमा संग्लन भएको बताएको छ ।
हमास र इजरायलबीच गाजाक्षेत्रको नियन्त्रणका विषयलाई लिएर पुरानो दुस्मनी रहँदै आएको छ । इजरायली सेनाका प्रवक्ता कर्णेल जोनाथन कार्निकसका अनुसार इजरायली सैनिकको फोन ह्याक गर्न खोजेको यो तेस्रो र अहिलेसम्मकै जटिल प्रयास थियो ।
उनका अनुसार ह्याकरले नजानेरै हिब्रु भाषा बोल्ने र प्रवासी भएको दाबी गर्ने महिलासँग सम्पर्क गराएका थिए । महिलाहरूले सैनिकहरूसँग सम्बन्ध बढाएपछि उनीहरूले केही लिंक पठाएर त्यहाँबाट आफूले तस्वीर पठाउने बताए ।
तर उनीहरूले पठाएको ती लिंकमार्फत पठाएका भाइरस स्मार्टफोन ह्याक गर्न सक्षम थिए । एक पटक क्लिक गरेपछि यो लिंक ह्याकरले स्मार्टफोनका डाटा, लोकेशन र तस्वीरसम्म पहुँच दिन्छ ।
यसबाट फोनमा नियन्त्रण गर्नुका साथै प्रयोगकर्ताको जानकारीबिना नै तस्वीर र आवाज पनि लिन सकिन्छ । इजरायली सैनिकले यसबारेमा जानकारी प्राप्त गरेपछि बन्द गरिएको बताएको छ।
