७० करोड घुस काण्डमा मुछिएका बाँस्कोटाको सम्पत्ति कति छ ?
काठमाडौं, १२ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि गरेको बार्गेनिङको अडियो सार्वजनिकपछि मुलुक तातेको छ ।
सोही प्रकरणले बाँस्कोटालाई पूर्वमन्त्रीको हैसियतमा पुर्याइसकेको छ । अडियो सार्वजनिक भएको १२ घण्टा नबित्दै विहीबार बाँस्कोटाले पदबाट राजीनामा दिनु भएको थियो । दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका बाँस्कोटाको राजीनामा विहीबार नै स्वीकृत भएको थियो ।
यतिबेला सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडा र शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका वसन्तकुमार नेम्वाङले सम्हाल्नु भएको छ ।
कति छ बाँस्कोटाको सम्पत्ति ?
सुरुमा राज्यमन्त्रीको रुपमा नियुक्त भएका बाँस्कोटाले नियुक्ति पाएको करिब २ महिनापछि अर्थात् २०७५ साल बैशाख ९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाउनु भएको थियो । सो विवरण अनुसार उहाँको सम्पत्ति अन्य मन्त्रीको भन्दा न्यून थियो ।
बाँस्कोटाले त्यतिबेला श्रीमती तारादेवी बाँस्कोटाको नाममा भक्तपुरको लोकन्थलीमा १२१.२४ वर्गामिटर क्षेत्रफल बराबरको जग्गा रहेको जनाउनु भएको छ ।
यो सम्पत्ति उहाँले पुख्र्यौंली सम्पत्ति बेचेर किनेको विवरणमा उल्लेख छ । त्यस्तै, बाँस्कोटाको आफ्नै नाममा बनेपामा १२७.१८ वर्गमिटर (४ आना), श्रीमतीकै नाममा साविकको देवभूमि बालुवामा १०४८.४८ वर्गामिटर (२ रोपनी), साविकको नयाँगाउँ देउपूरमा ३ ओटा कित्तामा रहेको ८ रोपनी ३ आना ३ पैसा जग्गा रहेको जनाइएको छ ।
बनेपाको जग्गा ३ लाखमा खरिद गरेको र अरु सम्पत्ति पैतृक भएको विवरणमा उल्लेख छ । अचल सम्पत्ति बाहेक बाँस्कोटासँग १७ तोला सुन, ६० तोला चाँदी तथा विभिन्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थामा समेत गरी २१ लाख ७५ हजार २९० रुपैंया नगद रहेको जनाइएको छ ।
त्यस्तै छोरालाई नर्वे पठाउन कुबेर सापकोटा र विष्णु खनालसँग १५ लाख रुपैंया ऋण लिएको देखाइएको छ भने टिभी, आईफोन र ल्यापटपसहित १ लाख ८० हजार रुपैंया बराबरको तीनओटा इलेक्ट्रोनिक ग्याजेट रहेको विवरणमा उल्लेख छ ।
सो ग्याजेटहरु साथीभाईबाट उपहार प्राप्त भएको विवरणमा उल्लेख गरिएको छ । साभारः रातोपाटी डटकम
