हेटौंडाबाट सांसदको मागः प्रधानमन्त्रीको राजीनामा, कमिशन प्रकरणमा संलग्नताको आरोप

तु खबर संवाददाता
२०७६ फाल्गुन ११, आईतवार १७:५७

हेटौंडा, ११ फागुन । बागमती प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नु भएको छ ।

आज आइतबार बसेको बागमती प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको लागि ७० करोड कमिशन प्रकरणमा प्रधानमन्त्रीको पनि संलग्नता रहेको आरोप लगाउनु भएको छ । सांसदहरुले प्रधानमन्त्री ओलीको संरक्षणमा बाँस्कोटाले घुस मागेको आरोप लगाउनु भयो ।

सरकारका प्रवक्तासमेत रहनु भएका निवर्तमान सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड घुस माग्नु भएको अडियो टेप बाहिरिएको थियो । उहाँले तत्कालै नैतिकताको आधारमा राजीनामा दिनु भएको थियो ।

कांग्रेस सांसदहरुले निवर्तमान मन्त्री बाँस्कोटाको अडियो प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र बर्तमान प्रधानमन्त्रीलाई अडियोको सूचना जानकारी गराइएको भएपनि उहाँले तत्काल छानबिनको लागि प्रयास नगर्नु भएकोले उहाँको पनि सो घटनामा संलग्न भएको आशंका व्यक्त गर्नुभएको छ ।

सरकारकै प्रवक्ताले घुस खान खोजेको भन्दै यस प्रकरणमा प्रधानमन्त्रीको पनि संलग्नता रहेको अरोप कांग्रेस सांसदहरुले लगाउनु भएको हो ।

घुस प्रकरणमा प्रधानमन्त्रीको पनि संलग्ना रहेको भन्दै तत्काल राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने बागमती प्रदेश कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घलले माग गर्नु भएको छ ।

कांग्रेसका सांसदहरु दीपेन्द्र श्रेष्ठ, नरोत्तम वैद्यले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु भएको छ । विवेकशीलका रमेश पौड्याल र राप्रपा संयुक्तकी रिना गुरुङले कमिशन प्रकरणको निष्पक्ष छानबिन गरेर दोषिलाई कारबाही अगाडि बढाउनु पर्ने धारणा राख्नु भयो ।

नेताहरुको पक्षमा हामी जुलुस नारा गर्दैनौंः सत्तारुढ सांसद

बैठकको विशेष समितिमा बोल्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले घटनाको विषयमा निष्पक्ष छानबिन गर्न आर्गह गर्नुभयो ।

उहाँहरुले अनुसन्धान र छानबिनबाट सत्यतथ्य पत्ता लाग्ने भन्दै कसैलाई पनि हचुवामा आरोप लगाउन नहुने भन्दै कांग्रेस सांसदहरुलाई सचेत रहन आग्रह गर्नु भएको छ ।

नेकपाका सांसदहरु दीपक निरौला, केशवराज पाण्डे, गणेश दुलालले घटनाको वास्तविक छानबिन हुने बताउनु भयो । समाचारमा आए जस्तो यथार्थ नहुन सक्ने भन्दै अनुसन्धान र छानबिनबाट घटनाको समाधान हुने उहाँहरुले बताउनु भयो ।

‘यो घटनामा बाँस्कोटालगायतकाहरुको पक्षमा बचाउको लागि हामी जुलुस नारा गर्दैनौं । निष्पक्ष छानबिन हुनुपर्छ ।’ संसदमा सत्तारुढ नेकपाका सांसदहरुले भन्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*