आफ्नै गोत्रको केटासँग बिहे गरेपछि परिवारबाटै हत्या
नयाँदिल्ली, ११ फागुन । भारतको दिल्ली नजिकै २५ वर्षीया युवतीलाई आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै परिवारले नै हत्या गरेका छन् ।
परिवारका सदस्यहरुले नै ती युवतीको हत्या गरी फालिदिएको घटना सार्वजनिक भएको छ । पूर्वी दिल्लीबाट कारमा उनको मृत शरीर राखेर गत जनवरी ३० मा यूपीको सिकन्द्राबादस्थित क्यानलमा फ्याँकिएको थियो ।
शीतल चौधरी नामकी युवतीलाई उनकै अभिभावक र अंकलहरु मिलेर हत्या गरी फालेको समाचार भारतीय मिडियाले सार्वजनिक गरेका छन् ।
घटना सार्वजनिक भएपछि प्रहरीले ती युवतीको परिवारका सदस्य सञ्जय र ओम प्रकाश, अंकलका दुई छोरा अंकित र प्रवेशलाई पक्राउ गरेको छ ।
उनीहरुले शीतल चौधरीलाई अपहरणपछि हत्या गरेको दिल्ली प्रहरीको आरोप छ । शीतलका श्रीमान अंकित भाटीले मुद्दा दायर गरेपछि प्रहरीले घटनामा चासो देखाएको हो । प्रहरीका अनुसार उनीहरुले गत अक्टोबरमा परिवारको अनुपस्थितिमा गोप्य रुपमा विवाह गर्नु भएको थियो ।
साथै परिवारभन्दा टाढा रहँदैआएका थिए । चौधरी र भाटी दुबैका परिवार डेरी व्यवसाय चलाउँदैआएका छन् । साथै उहाँहरु छिमेकी पनि हुन् ।
पछिल्लो तीन वर्षयता उहाँहरु ‘डेटिङ’ गर्दैआएका थिए । चौधरीको हत्यापछि परिवारका ६ जना मिलेर गाडीमा शव राखी सिकन्द्राबादमा लगेर फालेको प्रहरीको भनाइ छ ।
