हेटौंडा आएर गृहमन्त्रीले भन्नुभयो, ‘मन्त्री बाँस्कोटामाथि सरकारले छानबिन गर्छ’
हेटौंडा, ११ फागुन । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल)ले तत्कालिन सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटामाथि सरकारले छानबिन गर्ने बताउनु भएको छ ।
देशमा घटेका नकारात्मक घट्ना क्रमको शिलशिला बारे जानकारी दिँदै आज आइतबार हेटौंडा आइपुग्नु भएका गृहमन्त्री बादलले बाँस्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा कमिशनको चलखेलबारे सरकारले छानबिन गर्ने जानकारी दिनु भएको हो । उहाँले तत्कालिन मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको बताउँदै सरकारले छानबिन गरेर समाधान निकाल्ने बताउनु भयो ।
बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खदिरमा ७० करोड कमिशन मागेको अडियो टेप सञ्चारमाध्यामबाट बाहिरिएपछि नैतिकताको आधारमा गत बुधवार राजीनामा दिनु भएको थियो । बाँस्कोटाले अफूमाथि लागेको आरोप निराधान भएको बताउँदै आउनु भएको छ ।
प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आयोजित बागमती प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बादलले तत्कालिन सभामुख कृष्ण बहादुर महराको पनि मुलतः समाधान भइसकेको बताउनु भयो ।
उहाँले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका बारे बहस भइरहेको भन्दै सरकारले समस्या समाधान गर्ने तयारी गरिरहेको बताउनु भएको छ । बादलले सदनमा टेबुल भइसकेको एमसीसीको सम्बन्धमा सरकारले समाधान निकाल्न तयारी गरिरहेको बताउनु भयो ।

उहाँले मुलुकमा शान्तिसुरक्षाको अवस्थामा निकै सुधार भएकोले गर्दा नेपालका शान्तिसुरक्षाको अवस्थाबारे अन्तराष्ट्रिय क्षेत्रमा राम्रो प्रभाव परेको बताउनु भएको छ । नेपालको कालापानी, लिम्पियाधुरालगायतका भारतसँगको सीमा क्षेत्रको भू–भागलाई तत्काल फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कुटनैतिक प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।
मन्त्री थापाले राष्ट्रको भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटकहरु भित्र्याउने सरकारको लक्ष्यलाई साकार बनाउन अहिले सरकारले नीतिगत कार्यक्रमलाई अघि बढाई कार्यान्वयन गर्न लागिएको पनि जानकारी दिनुभयो ।
उहाँले जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षाको नयाँ रणनीति अबलम्बन गर्ने र दुबै छिमेकी देशको सिमानालाई अबलोकन गरि तत्काल सुरक्षा पोष्टहरु मजबुत बनाउन सुरक्षा निकाय परिचालन गरिने बताउनुभयो ।
गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल, गृहमन्त्रालयको सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका आइजिपिहरु, राष्ट्रिय अनुसन्धान विभाकको प्रमुख र नेपाली सेनाको उच्चस्तरीय सुरक्षा अधिकृतहरु, प्रदेशका १३ वटै जिल्लाका प्रजिअ, जनपथ र सशस्त्र प्रहरीका प्रमुखहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु र नेपाली सेनाका गणपतीहरुको सहभागिता रहेको छ ।
