ठेकेदारलाई समयमै निर्माण सक्न मुख्यमन्त्री पौडेलको निर्देशन

तु खबर संवाददाता
२०७६ फाल्गुन ९, शुक्रबार १७:३५
फाइल तस्बिर

नुवाकोट, ९ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नुवाकोट पुगेर ठेकेदारहरुलाई समयमै गुणस्तरीय काम गर्दै काम सक्न निर्देशन दिनु भएको छ ।

नुवाकोट पुगेर सडक निर्माणको लागि शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले निर्माणमा ठेकेदारहरुले लापरबाही गर्ने गरेको भन्दै सच्चिन चेतावनी दिनु भएको छ । उहाँले ठेकेदारहरुले निर्माण कार्यलाई अलपत्र पार्ने, समयमै काम नसक्ने, गुणस्तरीय काम नगर्नेलगायतका थुप्रै लापरबाही ठेकेदारबाट हुने गरेको भन्दै काममा गम्भिर भएर लाग्न आग्रह गर्नु भएको छ ।

बिहीबार मुख्यमन्त्री पौडेलले शिवपुरी गाउँपालिका–६ स्थित गुर्जेभञ्ज्याङ–समुन्द्रदेवी–मानेभञ्ज्याङ–दुप्चेश्वर सडक शिलान्यास गर्नु भएको छ । उहाँले यो सडक निर्माण समयमै सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिनु भएको छ ।

मुख्यमन्त्री पौडेलले बागमती प्रदेशमा धेरै राम्रा कामहरु भइरहेको बताउनु भएको छ । विगतका दिनमा सोचे अनुसारको काम प्रदेशले गर्न नसकेको भन्दै अबका दिनमा प्रदेश सरकारले गति लिने उहाँले बताउनु भयो ।

यसैगरी सडक शिलान्यासकै क्रममा बागमती प्रदेशका उपसभामुख राधिका तामाङले स्थानीयस्तरमा समृद्धि ल्याउने सडक निर्माणमा सबै जुट्नु पर्ने बताउनु भयो । सबैको सहयोगले सडक निर्माण गुणस्तरीय रुपमा आगाडि बढाउनु पर्ने उहाँको भनाई छ ।

प्रदेश सरकारको लगानीमा बन्न लागेको गुर्जेभन्ज्याङ–मानेभन्ज्याङ–दुप्चेश्वर सडक २३ करोड ८२ लाख रुपैयाँ ठेक्का लगाइएको छ । गत मंसिर १७ मा सम्झौता भएको ८ किलोमिटरको उक्त सडक १६ मंसिर २०७८ मा सम्पन्न गर्नु पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*