चीनका दुई जेलभित्र पनि देखियो कोरोनाभाइरसको संक्रमण, जेलर बर्खास्त
कोरोना भाइरसको संक्रमण चीनका दुई जेलभित्रका कैदीहरुलाई पनि देखिएको छ । पूर्वी चीनको साङडोङ प्रान्तको एक जेलमा दर्जनौं कैदीहरूलाई कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले उक्त प्रान्तका पार्टीका नेता र जेलका अधिकारीहरूलाई बर्खास्त गरेको छ।
जिनिङको रेन्चेङ जेलका गार्डलाई फेब्रुअरीको सुरूदेखि खोकी र अन्य लक्षण देखिएका थिए।
जेलभित्रका २ हजार ७७ मानिस थिए। बिहीबार गरिएको परीक्षणमा दुई सय जना कैदी र सात जना अधिकारीलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो।
त्यस्तै दक्षिणी झेजियाङ प्रान्तको अर्को जेलमा पनि ३४ जना कैदीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ। त्यहाँको पार्टीका अधिकारीहरूले बाहिरबाट भाइरस आएको भन्दै दुई जना जेलरलाई बर्खास्त गरेको जनाएका छन्।
यसैबीच बिहीबार फेरि चीनमा कोरोना भाइरसको संक्रमित हुनेको संख्या बढेको छ । बिहीबार एक सय १४ जनाको मृत्यु भएको छ भने ८ सय ९९ जना संक्रमित थपिएका छन्। यसअघि बुधबार १०८ जनाको मृत्यु भएको थियो भने ३९४ जनामात्र नयाँ बिरामी थपिएका थिए।
कोरोनाभाइरसबाट चीनमा अहिलेसम्म २ हजार २ सय ३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ४ सय ६५ जना संक्रमित भएका छन्। चीनपछि सबैभन्दा धेरै जापानमा १७३ जना संक्रमित भएका छन् भने ३ जनाको ज्यान गएको छ। दक्षिण कोरियामा १ सय ५६ जनालाई कोभिड(१९ देखिएको छ भने १ जनाको मृत्यु भएको छ। हङकङमा २ जनाले ज्यान गुमाएका छन्। एजेन्सी
