अमेरिकी राष्ट्रपतिका सल्लाहकारलाई ४० महिना जेल सजाय

तु खबर संवाददाता
२०७६ फाल्गुन ९, शुक्रबार ०९:४३
file-photo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मित्र तथा पूर्वसल्लाहकार रोजर स्टोनलाई ४० महिना जेल सजाय सुनाइएको छ । उनलाई जेलसजाय सुनाएकी न्यायाधीशले उनीप्रति घृणा व्यक्त गरेकी छन्।

कंग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा ६७ वर्षीय स्टोन दोषी पाइएका थिए ।

स्टोनले आफूलाई धम्काएको न्यायाधीशले बताएकी छन् । ट्रम्पले भने स्टोनलाई सफाइ दिइनुपर्ने दाबी गरेका छन् ।

सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएका स्टोन दोषी ठहर हुने ट्रम्पका छैटौँ सल्लाहकार हुन् ।

विकिलिक्ससँग सम्पर्क स्थापित गर्ने आफ्ना प्रयासहरूबारे संसद्‌को गुप्तचर समितिसमक्ष झूटो बोलेको भन्दै स्टोनलाई दोषी ठहर गरिएको हो।

विकिलिक्सले ट्रम्पका डेमोक्रेटिक प्रतिद्वन्द्वी हिलारी क्लिन्टनसम्बन्धी चुहावट गरिएका इमेलहरू सार्वजनिक गरेको थियो ।
अमेरिकी गुप्तचर अधिकारीहरूका अनुसार रुसी ह्याकरहरूले क्लिन्टनसम्बन्धी इमेलहरू चुहावट गरेका थिए ।

स्टोनलाई २० हजार डलर जरिवाना तिर्न र समुदायमा २५० घण्टा सेवा गर्न पनि न्यायाधीशले आदेश दिएकी छन्।
अभियोजनकर्ताहरूले स्टोनविरुद्ध सातदेखि नौ वर्षको जेलसजाय सुनाउन माग गरेका थिए।

वाशिङ्टन डीसी अदालतमा आदेश सुनाउँदै न्यायाधीश एमी बर्मन ज्याकसनले स्टोन आफूलाई धम्काउने र प्रभावित पार्ने काममा संलग्न रहेको बताइन् ।

न्यायाधीश ज्याकसनले गत वर्ष आफ्नो टाउकोको छेउमा बन्दुकको चित्र राखेर सामाजिक सञ्जालमा तस्वीर राखेका स्टोनलाई आफूले के गरिरहेको छु भन्ने कुरा राम्ररी थाहा रहेको उल्लेख गरिन् ।

न्यायाधीश ज्याकसनले राष्ट्रपतिको पक्षमा उभिएकोले नभई राष्ट्रपतिका कामलाई ढाकछोप गरेको अभियोगमा चाहिँ स्टोनलाई दोषी ठहर गरिएको बताइन् ।

गत हप्ता अभियोजनकर्ताहरूले स्टोनलाई सातदेखि नौ वर्षको जेलसजाय सुनाउन सिफारिश गरेपछि ट्रम्पले आपत्ति जनाएका थिए । यो जेल सजाय डरलाग्दो र पूर्वाग्रही हुने भन्दै उनले ट्वीट गरेका थिए ।

त्यसलगत्तै न्याय मन्त्रालयले स्टोनलाई दिइने जेलसजाय घटाउने गरी माग दाबी गर्ने बताएको थियो । न्याय मन्त्रालयको त्यो योजनालाई लिएर चारजना अभियोजनकर्ता सो मुद्दाबाट अलग भए भने एक जनाले मन्त्रालय नै छाडेका थिए।

बिहीवार न्यायाधीश ज्याकसनले मुद्दामा न्याय मन्त्रालयको हस्तक्षेप अशोभनीय भएको टिप्पणी गरिन्। अदालतको आदेशपछि लस भेगासमा बोल्दै ट्रम्पले स्टोनको प्रतिरक्षा गरेका छन् ।

उनले स्टोनलाई माफी दिने तत्काल आफ्नो योजना नरहे पनि एउटा बिन्दुमा आफूले निर्णय लिने बताए। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*